डिस्कोमा गएर रक्सी पिउने चार खेलाडीले ए डिभिजन लिग खेल्न पाउने


काठमाडौं – नाइट क्लब काण्डमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले लिग खेल्न पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको अनुशासन समितिले उनीहरूलाई निलम्बनसम्बन्धी निर्णय लागू हुने मिति परिवर्तन गरेसँगै चारै खेलाडीले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग खेल्न पाउने भएका छन् ।

एन्फाले यसअघि १३ डिसेम्बर २०१९ देखि विमल घर्तीमगर र डिफेन्डर दिनेश राजवंशीलाई तीन महिनाको निलम्बन गर्ने निर्णय गरेको थियो ।
त्यस्तै मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ भने ४५ दिन निलम्बनमा परेका थिए । तर खेलाडीको छुट्टाछुट्टै अपिलपछि एन्फाले उनीहरूको निलम्बन नाइट क्लबमा गएको दिनदेखि गणना गर्ने निर्णय गरेको हो ।

नयाँ निर्णयपछि विमल र दिनेशले लिगका अन्तिम चार खेल खेल्न पाउने भएका छन् । अञ्जन र सन्तोषले सुरूआती चार खेल गुमाउनेछन् ।
फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरूद्धको खेलअघि चार फुटबलर नाइट क्लबमा गएर मदिरा सेवन गरेको पाइएपछि एन्फाले तत्काल राष्ट्रिय टिमबाट हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement