परराष्ट्र मन्त्रालयले भन्यो : एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाएको छैन


काठमाण्डु – परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने विषयमा अमेरिकालाई पत्र पठाउन बाँकी नै रहेको बताएको छ ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आइतबार पत्रकार सम्मेलन गर्दै एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको जानकारी दिएकी हुन् ।

यसअघि गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभा बैठकमा एसपीपीमा सहभागी नहुने सरकारको निर्णयसहित अमेरिकालाई लिखित पत्र पठाइसकेको बताएका थिए । तर, प्रवक्ता लम्सालले सरकारको उक्त निर्णयमाथि अध्ययन भइरहेको बताइन् । सरकारले एसपीपीमा सहभागी नहुने भनी गरेको निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयमा पठाएको छ ।

‘पहिले हामीले पत्र पठाएका होइनौं, त्यसैले यसबारेमा अध्ययन भइरहेको छ । पठाउने भन्नेबित्तिकै हुँदैन । पहिले के–के भएको थियो भन्ने विषयमा पनि बुझ्नुपर्ने हुन्छ’ उनले भनिन्, ‘ढुक्क हुनुस् ! उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्छौं ।’

अमेरिकाको युटा राज्यस्थित नेसनल गार्डमा नेपाली सेना सहभागी हुने भन्दै सेनाले पठाएको पत्र सार्वजनिक भएपछि त्यसले नेपाली राजनीतिमा तरंग ल्याएको थियो । पछि सरकारले असार ६ गते एसपीपी कार्यक्रममा संलग्न नहुने निर्णय गरेको थियो । त्यसैअनुसारको जानकारी परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई जनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement