परराष्ट्रद्वारा निर्मल पुर्जासहित ४ नेपाली आरोहीको शव नभेटिएको जानकारी

परराष्ट्रद्वारा निर्मल पुर्जासहित ४ नेपाली आरोहीको शव नभेटिएको जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्र मन्त्रालयले पाकिस्तानको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा भएको विनाशकारी हिमपहिरोमा परी निधन भएकामध्ये कीर्तिमानी आरोही निर्मल पुर्जासहित चार नेपालीको शव नभेटिएको जनाएको छ ।


मन्त्रालयले आइतबार ‘प्रेस नोट’ जारी गर्दै हालसम्म नेपाली आरोहीमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको मात्र शव फेला परेको जानकारी दिएका हुन् ।

परराष्ट्रका अनुसार बाँकीको खोजी कार्य जारी छ । भेटिएका दुई नेपाली आरोहीको शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासमार्फत आवश्यक सहजीकरण भइरहेको पनि परराष्ट्रले प्रेस नोटमा उल्लेख गरेको छन ।

प्रेस नोटमा मन्त्रालयले प्रख्यात आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित ६ नेपाली आरोहीको दुःखद निधन भएकामा गहिरो दुःख व्यक्त गरेको उल्लेख गरिएको छ ।

मन्त्रालयले हिमपहिरोमा परी नेपालीसहित अन्तर्राष्ट्रिय आरोहीहरूको निधन भएकाप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

ब्रोड पीक आरोहणका क्रममा १४ साउन मा ६ हजार ६ सय मिटर उचाइमा क्याम्प–२ बाट क्याम्प–३ तर्फ जाने क्रममा गएको हिमपहिरोमा परी आरोहीहरूको निधन भएको थियो ।

उक्त दुर्घटनामा प्रख्यात आरोही ‘निम्स दाइ’ सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधन भएको थियो ।

मन्त्रालयले यस घटनाबाट पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ । नेपाली आरोहीहरू संलग्न टोली बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय र नेपाली टोलीले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको पनि मन्त्रालयको नोटमा उल्लेख छ ।

उच्च हिमाली क्षेत्रमा कठिन परिस्थितिमा खोज तथा उद्धार कार्यमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक प्रयासको मन्त्रालयले सराहाना गरेको छ ।

‘दुर्घटनामा निधन भएका नेपाली आरोहीहरूमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव फेला परिसकेको छ भने बाँकीको खोजी कार्य निरन्तर जारी रहेको छ ।

साथै, नेपाली आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन नेपाली राजदूतावास, इस्लामाबादबाट आवश्यक सहजीकरण भइरहेको बेहोरा पनि जानकारी गराइएको छ’, पपरराष्ट्रको नोटमा भनिएको छ, ‘यस दुःखद घडीमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’