वनमन्त्री र चिनियाँ राजदूतविच भेटवार्ता, द्विपक्षीय हित र चासोका विषयमा छलफल


काठमाडाैँ– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि चिनियाँ राजदूत यु होङले बिहीबार भेटवार्ता गरेकि छिन् ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भयो ।

भेटमा मन्त्री बस्नेतले चीन सरकारले उच्च प्राथमिकतामा राखेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सफल पार्न नेपालका तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । । दुई देशीय सम्बन्ध सरकार र सरकारको सम्बन्धमा मात्र सीमित नरही जनता-जनताबीचको सम्बन्धमा समेत विस्तार र सुदृढ हुँदै गएको चर्चा गर्दै मन्त्री बस्नेतले बिआरआईका कारण द्विपक्षीय सम्बन्ध र सहकार्यका धेरै आयामको ढोका खुल्ने विश्वास व्यक्त गरे ।

‘बिआरआई चीनको गौरवपूर्ण आयोजना हो’, मन्त्री बस्नेतले भने, ‘नेपाल बिआरआई सफल पार्न सदैव चीनको साथ रहने छ ।’ नेपाल लामो राजनीतिक संक्रमणको अत्यासलाग्दो वातावरणबाट मुक्त भएको र बाम गठबन्धनको वर्तमान सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’ नाराका साथ मुलुकलाई समृद्ध बनाउने दिशामा दृढतापूर्वक अगाडि बढिरहेको उनले बताए ।

मन्त्री बस्नेतले नेपाल चीनसँग उर्जा, जडिबुटी, वन-वातावरण लगायत क्षेत्रमा थप सहकार्यका लागि तयार रहेको स्पष्ट गरे ।

भेटका अवसरमा राजदूत योङले असल छिमेकीका नाताले नेपालको आर्थिक विकास र समृद्धिको योजनामा साथ दिन चीन सदैव तत्पर रहेको प्रतिबद्धता जनाउदैँ नेपालले उपहारका रुपमा चीनलाई दिने भनेको दुई जोडी एक सिङ्गे गैंडा हस्तान्तरणको प्रक्रियाबारे चासो राखेकि थिर्इन् ।

जवाफमा मन्त्री बस्नेतले दुई चिनियाँ विशेषज्ञ समेतको सहयोगमा हाल चीन लान तयार पारिएका गैंडा संरक्षणको काम भइरहेको बताए । उनले चितवन राष्ट्रिय निकुञ्जमा रहेका ती गैंडा राजधानी ल्याएर राख्नका लागि बासस्थानको निर्माण भइसकेको र आगामी जुन महिनाको दोश्रो साता एक जोडी गैंडा चीन पठाउने तयारीमा मन्त्रालय रहेको अवगत गराए ।

राजदूत योङले नेपालको एक सिङ्गे गैंडालाई चीनको राष्ट्रिय चिडिया खानामा लगेर राखिने भन्दै ती गैंडाले चिनियाँ जनतामाझ नेपाललाई चिनाउन मद्धत गर्ने विश्वास व्यक्त गरे । यस्तै, चीनले नेपालमा बाँसबाट उत्पादित सामग्री प्रयोगमा ल्याउन आवश्यक प्राविधिक तालिम दिने पनि राजदूत योङले बताए । उनले चीनमा बाँसबाट उत्पादित खाट, कुर्सी, टेबल र सजावटका सामग्री धेरै नै लोकप्रिय रहेको चर्चा गर्दै ती सामग्री निर्माणको तालिम दिन नेपाली युवालाई चीन लैजाने घोषणासमेत गरे ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा नेपालको प्राथमकिता र एमाले माओवादी पार्टी एकीकरण प्रक्रियाबारे चासो व्यक्त गरेकि थिर्इन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement