पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन्।

बाढीपहिरो र अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको अवस्थालाई मध्यनजर गर्दै उनले यस वर्षको बडादशैं सादगीपूर्वक मनाउने निर्णय गरेका हुन्।

निर्मल निवासस्थित संवाद सचिवालयले आइतबार जारी गरेको सूचनामा पूर्वराजा शाहबाट यस वर्षको बडादशैं सादगीपूर्वक मनाउने निधो भएको जानकारी दिइएको छ।

सूचनामा गत भदौ १० गतेको हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौं मानिस विस्थापित हुनुका साथै सयौंको दुःखद निधन भएको उल्लेख छ।

विपत्तिबाट ठूलो जनधनको अपूरणीय क्षति भएको भन्दै यस्तो असहज परिस्थितिलाई ध्यानमा राखेर दशैं सादगीपूर्वक मनाउने निर्णय गरिएको सचिवालयले जनाएको छ।

‘आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादशैं पर्व सादगीपूर्वक मनाउने निधो गरिबक्सेको छ,’ सूचनामा भनिएको छ।

सचिवालयका अनुसार यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रमसमेत रहने छैन।