फोरम र राजपाका लागि मन्त्रालय बढाउँदै प्रधानमन्त्री


काठमाडौ-  मन्त्रिपरषद्को बिहीबारको बैठकमा मन्त्रालयहरुको संख्या थप र पुनर्गठनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकले यस विषयमा प्रारम्भिक छलफल गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले जानकारी दिइन् ।

विगतमा रहेका ३१ मन्त्रालय घटाई वर्तमान सरकारले कार्यसम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय कायम गरेको थियो । तर संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा ल्याउन केपी ओली नेतृत्वको सरकारले मन्त्रालय बढाउनेबारे गृहकार्य थालेकोकाे खबर अाजकाे अन्नपूर्णपाेस्ट्मा छ ।

फोरम र राजपाले सरकारमा जानका लागि ओली सरकारसँग कम्तिमा पनि ३र३ मन्त्रालय मागेका छन् । संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागी हुने भएपछि केही मन्त्रालय थप्ने गृहकार्य सरकारले थालेको हो ।

फोरमले यसअघि नै सरकारमा जाने निर्णय गरिसकेको छ । राजपाले भने सरकारलाई समर्थन गरे पनि सरकारमा जाने निर्णय गरिसकेको छैन । उसले पनि तीन मन्त्रालय मागेको छ । फोरम र राजपा सरकारमा जाने भएमा ओली नेतृत्वको मन्त्रिमण्डल कम्तिमा पनि २२ सदस्यीय हुनेछ । सरकारमा संविधानअनुसार संघीय सरकारका २५ सदस्यसम्म मन्त्री रहन सक्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमा मन्त्रिमण्डल विस्तार गर्दैछन् । अहिले मन्त्रिमण्डल विस्तारका लागि ओलीले एमाले र माओवादीबाट पनि मन्त्रीहरूको चयन प्रक्रिया अघि बढाएका छन् । शक्तिशाली सरकारको नेतृत्व गर्ने योजनाका साथ ओलीले मधेसवादी दललाई सरकारमा ल्याउने प्रयास जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement