झापा- मेचीनगर नगरपालिका १५ स्थित माँ पाथीभरा प्लाई फ्याक्ट्रीमा कार्यरत रामबहादुर गौतमको कुटपिटबाट स्थानीय ५५ वर्षीय रुद्र श्रेष्ठको आज मृत्यु भएको छ ।
सामान्य भनाभन र वादविवादमा श्रेष्ठलाई फ्याक्ट्रीका कामदार ३५ वर्षीय गौतमले कुटपिट गरी घाइते भएका थिए । घाइतेलाई स्थानीय ज्यामिरगढी प्रहरी चौकीको टोली घटनास्थल पुगेर उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।
टाउकामा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्था भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले कुटपिटमा संलग्न गौतमलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
यसैगरी, दमक नगरपालिका(१० सेतुमारीस्थित रतुवा खोलाको पुलमुनि प्लास्टिकको बोराभित्र फेला परेको महिलाको शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काका अनुसार शनिबार दिउँसो पुलमुनि खोलामा बगिरहेको अवस्थामा महिलाको शव बोराभित्र भेटिएको थियो ।
निज मृत व्यक्ति दमक नगरपालिका ८ वसन्त टोलकी २१ वर्षीया रमा तिवारी रहेको आइतबार सनाखत भएको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए । तिवारी गत बुधबार राति ९ः३० बजेतिर घरबाट आफूखुसी हिँडेपछि त्यसयता सम्पर्कविहीन भएकी मृतककी आमा मुना तिवारीलाई उद्द्धृत गर्दै प्रहरीले जनाएको छ ।
मेचीनगर र विर्तामोडमा दुई व्यक्ति मृतावस्थामा फेला परेका छन् । मेचीनगर ८ जोरसिमलस्थित महेन्द्र राजमार्गबाट ५० मिटर दक्षिणतिर अन्दाजी ३५ वर्षीय एक पुरुष मृतावस्थामा शुक्रबार फेला परेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै, इलामको फाकफोक गाउँपालिका ३ निवासी ४५ वर्षीय राज थेगिमलाई शनिबार विर्तामोड नगरपालिका ३ स्थित सडकमा लडेर घाइते भएको अवस्थामा प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको थियो । अत्यधिक मदिरा सेवन गर्दै आएका थेगिमको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हुनसक्ने प्रहरी प्रवक्ता खड्काले जानकारी दिए ।




प्रतिक्रिया