फ्रान्समा देशव्यापी प्रदर्शन चर्कियो, १४३ वर्ष पुरानो सिटी हलमा आगजनीपछि ढल्यो घण्टाघर

फ्रान्समा देशव्यापी प्रदर्शन चर्कियो, १४३ वर्ष पुरानो सिटी हलमा आगजनीपछि ढल्यो घण्टाघर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फ्रान्समा बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट वृद्धि र सरकारी खर्च कटौतीको विरोधमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ।

प्रदर्शनकारीले लिमोज सहरको १४३ वर्ष पुरानो सिटी हलमा आगजनी गर्दा भवनको घण्टाघर भत्किएको छ।

आरटीका अनुसार शनिबार साँझ भएको आगलागीले ऐतिहासिक भवनमा ठूलो क्षति पुर्‍याएको छ। भवनको छाना भित्री तल्लामा खसेको छ भने बाहिरी भागको ठूलो हिस्सा नष्ट भएको स्थानीय अधिकारीहरूले बताएका छन्। भवनभित्र रहेका व्यक्तिमध्ये कोही घाइते भएको खबर आएको छैन।

शिक्षाबाट सुरु आन्दोलन देशभर

गत महिना पेरिसनजिकैको क्रेतेइलस्थित एक विद्यालयमा शिक्षक अभाव र विद्यालयको कमजोर भौतिक अवस्थाविरुद्ध विद्यार्थीले सुरु गरेको आन्दोलन अहिले देशव्यापी बनेको छ।

शिक्षामा लगानी बढाउनुपर्ने, विद्यार्थीको सिकाइ अवस्था सुधार गर्नुपर्ने र बढ्दो महँगी नियन्त्रण गर्नुपर्ने मागसहित आन्दोलन भइरहेको छ।

सरकारको सन् २०२७ को बजेट प्रस्ताव र सार्वजनिक खर्च कटौतीको विरोधमा श्रमिक संगठनहरू पनि आन्दोलनमा सहभागी भएका छन्।

१,२०० जना पक्राउ, १५० प्रहरी घाइते

प्रदर्शनका क्रममा पेरिस, मार्सेई, रेनेस, टुलुज र आन्जे सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशभरबाट १,२०० जना पक्राउ परेको बताएका छन्। गृहमन्त्री लरेन नुनेजका अनुसार झडपमा १५० प्रहरी घाइते भएका छन्।

मार्सेईमा प्रदर्शनकारीले सिटी हलमा प्रवेश गरी ढोका तोडफोड र भित्तामा नाराहरू लेखेका छन्। लियोनसहित अन्य सहरमा पनि आगजनीका घटना भएका छन्।

राष्ट्रपति इम्यानुएल म्याक्रोंले प्रदर्शनकारीलाई शान्त रहन र सार्वजनिक सम्पत्तिको सम्मान गर्न आग्रह गरेका छन्। सरकारले हिंसात्मक घटनामा अतिवामपन्थी समूहको संलग्नता रहेको आरोप लगाएको छ।

यसैबीच, प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले अपनाएको रणनीतिमाथि पनि प्रश्न उठेको छ। युवा प्रदर्शनकारी गम्भीर घाइते भएको खबर सार्वजनिक भएपछि प्रहरी कारबाहीको आलोचना भइरहेको छ।