काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको चुनावमा गठबन्धनसहति जाने संकेत गरेका छन् । प्रधानमन्त्री देउवाको चुनावमा गठबन्धनसहित जाने संकेतले गठबन्धन भने अगामि दिनमा पनि कायम रहने देखिएको छ ।
पछिल्लो समय हालको गठबन्धन स्थानीय तहको चुनावसम्म मात्र कायम रहने आँकलन गरिएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देउवासँग चुनावमा मिलेर जान आग्रह गरेका थिए ।
तर यसभन्दा अघि भने प्रधानमन्त्री देउवा स्थानीय तहको निर्वाचनमा गठबन्धनसहित जाने की नजाने विषयमा मौन बसेका थिए । पछिल्लो समय नेपाली कांग्रेसका नेताहरुले चुनावमा नेपाली कांग्रेस कुनै पनि दलसँग सहकार्य नगर्ने बताउँदै आइरहेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावमा मिलेर जाने बताउँदै आइरहेको बेला नेपाली कांग्रेसका नेताहरुले भने निर्वाचनमा आफूहरु कुनै पनि दलसँग सहकार्य नगर्ने दावी गरेका छन् ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति कटाक्ष गर्दै कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्नेहरुबाट कांग्रेसलाई केही फाइदा नहुने दाबी गरेका छन् । ‘कांग्रेसरुपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ । कांग्रेस चुनावको मैदानमा लम्किदै गर्दा हात्तीको ठूलो कान देखेर चमेराहरु हात्तीको कानमा ओत लाउन खोज्दैछन् । हात्तीको कानमा ओत लाग्ने चमेराको भरोसा हुँदैन । चमेराले हात्तीलाई केही सहयोग गर्दैन बरु हात्तीको कान दुर्गन्धित बनाउछन् । त्यसैले जनताबीच कांग्रेस एक्लै जान्छ आफ्नो रोडम्यापमा । ’ उनले काठमाण्डुमा आयोजित एक कार्यक्रममा भनेका थिए ।
प्रचण्डले आफूहरुको सहयोगले हालको सरकार बनेको बताउँदै नेपाली कांग्रेसका केहि नेताहरुले आफूहरु प्रति नराम्रो ब्यवहार गरिरहेका भन्दै दुखेसो पोखेका थिए । नेपाली कांग्रेसका नेताहरुको गठबन्धनप्रतीकाे नजर हेर्दा हालको गठबन्धन स्थानीय तहको चुनावसम्म मात्र रहने देखिएको थियो ।
तर आज प्रधानमन्त्री देउवाको बोलीले गठबन्धनको यात्रा लामो समय सम्म रहिरहने देखिएको छ । प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलहरुको सहयोग अगामि दिनमा पनि आवश्यक रहेको बताउँदै कसैप्रति पनि नराम्रो ब्यवहार नगर्न नेताहरुलाई आग्रह गरेका छन् । पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अगामि चुनावमा पनि गठबन्धन दलहरुको सहयोग आवश्यक पर्ने बताएका हुन् ।
‘गठबन्धनका साथीहरूलाई बोलीव्यहारबाट कुनै पनि किसिमको हानि तथा चिढ्याउने काम नगरौं । आगामी सरकार पनि बनाउनुपर्ने हुन सक्छ ।’ उनले चुनावमा बहुमत ल्याउन कुनै न कुनै दलसँग सहकार्य गर्नुपर्ने बताएका छन् । ‘हामीले सबैको सहयोग लिएर अगाडि बढ्नुपर्छ, एक्लै चुनाव लड्दाको अवस्था के थियो । एक्लै बहुमत ल्याउन सकिँदैन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने अवस्था छ ।’ उनले भने । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन र संघको निर्वाचनमा मिलेर जाने की नजाने विषयमा छलफल हुने बताएका छन् ।




प्रतिक्रिया