टिकटका लागि दाइ र भाउजूको चाकरी गर्नुपर्दासम्म पार्टीमा राजतन्त्र बाँकी रहन्छ : थापा


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावको टिकटका लागि दाइ र भाउजूको चाकरी गर्नुपर्दासम्म पार्टीमा निरंकुशता रहिरहने बताएका छन् ।

कांग्रेस बागलुङ क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिले आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्न आएका थापाले चुनावका बेला नेताले टिकट दिने पद्धति सच्याएपछि मात्र कांग्रेसमा लोकतन्त्र आउने बताए ।

‘वडा सभापति बन्न क्रियाशील कार्यकर्ताले भोट दिनुपर्ने, वडाध्यक्ष बन्न जिल्ला सभापतिले टिकट दिने यो लोकतन्त्र होइन,’ उनले भने, ‘जबसम्म टिकटका लागि दाइ र भाउजूको चाकरी गर्नुपर्छ तबसम्म पार्टीमा निरंकुशता र राजावादी सोच बाँकी रहन्छ ।’

हरेक वडा, नगर र क्षेत्रीय सम्मेलनबाट वडाध्यक्ष, मेयर र अध्यक्ष तथा प्रदेश र संघीय संसद्को उम्मेदवार छनौट गर्न सकेमा मात्र कांग्रेस पार्टीभित्र गणतन्त्र आउने उनले बताए ।

आगामी मंसिरमा हुने महासमितिको बैठकमा एजेन्डा लगेर विधान परिवर्तन गर्न पहल गर्ने उनले बताए । १०४ वर्षको राणा शासन र ३० वर्षको पञ्चायत फालेको कांग्रेसले आन्तरिक राजतन्त्र फाल्न नसकेको महामन्त्री थापाले बताए ।

‘राजाबाट सार्वभौमसत्ता जनतामा ल्यायौं तर पार्टीभित्रको प्रवृत्तिमा परिवर्तन भएन,’ उनले भने, ‘जब कार्यकर्तामुखी कांग्रेस बन्छ, तब पार्टीका नेता पनि जनमुखी बन्छन् ।’

आगामी महाधिवेशन समयमा गरेर १ वर्षभित्र क्रियाशील सदस्यता टुंगो लगाएपछि मात्र निर्वाचनमा जाने गरी फाइल पद्धति विकास गर्ने उनले बताए ।

चुनावी गठबन्धनको विरोध गर्दै उनले भने, ‘चुनावअघि गरिने गठबन्धनले लोकतन्त्रको मूल्य बिगार्छ, चुनाव जितेर पनि कार्यकर्तामा निराशा आउनुको परिणाम पनि यही हो ।’

२०८४ सालमा हुने निर्वाचनमा सबै पालिका, सबै निर्वाचन क्षेत्र हार्नु परे पनि कांग्रेसले गठबन्धन नगर्ने उनले बताए । ‘सबै सिट गुमाएर चकटीमा बस्नु परोस् तर कार्यकर्ताको शीर निहुरिने गरी अर्को दललाई भोट हाल्न लगाउने गरी गठबन्धन गरिँदैन,’ उनले भने, ‘सबै कम्युनिस्ट मिलून्, स्वतन्त्रहरू पनि मिलून् तर कांग्रेस एक्लै लड्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement