ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको बजेट न्यून आय भएको समाजका वर्गप्रति मौन रहेको बताएका छन् ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित पार्टीको भातृ संस्था नेपाल थारु संघको प्रथम महाधिवेशनमा उनले नागरिक सर्वोच्चता आफू नेतृत्वको पार्टीको पहिलो प्राथमिकता भएकाले जनताका पक्षमा निरन्तर वकालत गर्ने बताए ।
राष्ट्रको एकीकरण र राष्ट्रिय एकता कायम गर्ने सन्दर्भमा थारु समुदायको ठूलो योगदान महत्वपूर्ण भएको उनले बताए । थारु समुदायका नागरिकका लागि राज्यका निकायमा सहज पहुँच पुर्याउन आफू लागिपर्ने उनको भनाइ छ ।
‘बीपी कोइरालाले थारु समुदायप्रतिको विश्वास र भरोसा गर्दै जिम्मेवारीमा प्रतिनिधित्व गराउनुभएको थियो । थारु संघ पार्टीको भातृ संस्था हो, पार्टीको अभिन्न अङ्ग हो, संघको यो अधिवेशनबाट निर्वाचित हुने नेतृत्वले पार्टीको नयाँ क्रियाशील सदस्यता अभिवृद्धिका लागि जोड दिनुपर्छ, थारु संघको अबको नेतृत्वले संविधान संशोधनमा समेटिनुपर्छ,’ सभापति थापाले भने ।
कांग्रेसले नेपालको अर्थतन्त्रमा सुधार गर्नुपर्छ भनेर वकालत गरेको उल्लेख गर्दै उनले बजेटमा धेरै सुधारका कुराहरू समेटिएको भए पनि न्यून आय भएको समाजका वर्गप्रति बजेट मौन रहेको धारणा राखेका छन् ।
पार्टीका महामन्त्री प्रदीप पौडेलले थारु समुदायले नेपालको सीमा रक्षा र आर्थिक विकासमा ठूलो योगदान गरेको स्मरण गर्दै संविधानमा प्राप्त भएको अधिकारलाई रक्षा गर्दै थारु समुदायलाई मूलधारमा स्थापित गर्न मिलेर जानुपर्ने आवश्यकता रहेको बताए ।
पार्टीका अर्का महामन्त्री गुरुराज घिमिरेले थारु जाति नेपालको मूलवासी भएको भन्दै थारु जातिको उत्थान राजनीतिक अधिकार स्थापित गराउनका लागि सबै एकताबद्ध लाग्नुपर्नेमा जोड दिँदै सबै पार्टी र जातजातिलाई एकताको सुत्रमा बाँध्ने भनेको कांग्रेस भएको दाबी गरेका छन् ।
पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले व्यक्तिवादी चिन्तनबाट अगाडि बढेर नेपालमा रहेका सम्भावनालाई पहिचान गर्दै समृद्धि, समुन्नति र राजनीतिक उपलब्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिए । कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले नेपाल विविधता बोकेका नागरिकको देश भएको धारणा बताउँदै थारु समुदायको हकहितका साथै हरेक नेपालीलाई राजनीतिक, आर्थिक र सामाजिक अधिकारमा स्थापित गर्न ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले हिमाल, पहाड र तराईका हरेक मानिसहरूको अपेक्षा र चासोलाई सम्बोधन गर्दै पहिचानको मुद्दा राज्यको हरेक तहमा स्थापित गर्न कांग्रेसले ध्यान दिनुपर्नेमा जोड दिए ।
केन्द्रीय सदस्य गोपाल दहिदले राष्ट्रिय जनसंख्याअनुसार देशभर ७ प्रतिशत जनसंख्या रहे पनि कांग्रेसभित्र ३ प्रतिशत मात्रै क्रियाशील सदस्य रहेको जानकारी गराउँदै थारु संघले थारुहरूमाथिको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक विभेदविरुद्ध आवाज उठाउँदै आएको बताए ।
केन्द्रीय सदस्य जीवन रानाले भाषिक, सांस्कृतिक रूपमा सुन्दर इतिहास र पहिचान रहेको थारु समुदायको आर्थिक सामाजिक न्याय, राजनीतिक परिवर्तनका लागि खेलेको भूमिका महत्वपूर्ण भएको बताए । पूर्वमन्त्री तेजुलाल चौधरीले संविधान घोषणा भएको ११ वर्ष पूरा हुँदा पार्टीले पर्याप्त रूपमा थारुलाई सरकारी सेवा, प्रदेश सरकारमा मन्त्रिपरिषद्मा राजनीतिक नेतृत्वमा समेट्न नसकेको धारणा राखेका छन् ।




प्रतिक्रिया