काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले विद्युत् महसुलमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउन आग्रह गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै सभापति थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णयको स्वागत गर्दै अब विद्युत् महशुलमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर पनि पुनरावलोकन गर्नुपर्ने बताए ।
उनले सरकारले आमनागरिकको आर्थिक तथा सामाजिक यथार्थलाई बुझेर कर नीतिमा आवश्यक सुधार गर्नुपर्नेमा जोड दिए ।
थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क सुरुदेखि नै अनुपयुक्त रहेको भन्दै नेपाली कांग्रेसले प्रारम्भदेखि नै यसको विरोध गर्दै आएको उल्लेख गरे । निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न नहुने र धेरैका लागि निजी सेवा विलासिता नभई बाध्यता रहेको उनको भनाइ छ ।
उनले निजी शिक्षा र स्वास्थ्य क्षेत्रलाई देशको सेवा प्रणालीको अभिन्न साझेदारका रूपमा उल्लेख गर्दै सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले समस्या समाधान नगर्ने धारणा व्यक्त गरेका छन् ।
समता शुल्क समानताको नीति नभई असमानतालाई झन् बढावा दिने व्यवस्था भएको उल्लेख गर्दै थापाले सरकारले आर्थिक तथा सामाजिक यथार्थलाई स्वीकार गरी उक्त व्यवस्था खारेज गर्नु सकारात्मक निर्णय भएको बताए ।
सभापति थापाले सरकारको निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि विधिसम्मत रूपमा पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।




प्रतिक्रिया