काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि गर्न नसकिने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आईतबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अगामी असोज १६–१९ गतेसम्म महाधिवेशन गर्ने गरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको भएको बताए ।
पार्टी विधान र कानुनअनुसार पार्टीले तय गरेको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको उनले बताए । पार्टीको बृहत्तर एकताका लागि छुटेका नेता तथा कार्यकर्तालाई पार्टी सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी गराउन कार्यतालिकामा आवश्यक हेरफेर र सहजता अपनाउँदा केही समय लागेको उनले बताए ।
‘असोज १६–१९ गतेसम्म जुन कार्यतालिका तोकिएको छ, त्यहीँ कुरामा हुन्छ । त्यो हाम्रो अन्तिम विषय नै हो । अब यसमा पार्टीको बृहत्तर एकताको निम्ति छुट्नुभएका सबै नेता तथा साथीहरूले पार्टीको सदस्यता अद्यावधिक गर्ने कुरामा बढीभन्दा बढी साथीहरू र नेताहरूलाई सहभागी गराऔँ भनेर उहाँले कार्यतालिका बनाउँदै परिवर्तन गरिरहनुभएको छ । सहज बनाउँदै गर्दा केही समय लागेको छ,’ उनले भने ।
पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई सामान्य रूपमा लिएको भन्दै पुन: न्यायालयको सामना गर्ने बताए । पार्टीको विधानसम्मत भएको विशेष महाधिवेशनलाई यसअघि नै निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भन्दै उनले डराउनुपर्ने अवस्था नरहेको बताए ।




प्रतिक्रिया