काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा राजनीतिक कुरा भइरहने भए पनि १५औं महाधिवेशन प्रक्रिया सुरु भइसकेको बताएका छन् ।
मंगलबार सानेपामा विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति थापाले अब महाधिवेशनका लागि समय कम रहेकाले निर्धारित कार्यतालिकाअनुसार अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘राजनीतिक कुरा छलफल भइरहन्छ । तर हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो ।’ उनले महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउन महाधिवेशनसँग सम्बन्धित समितिहरूबारे खुला छलफल गर्न तयार रहेको बताए ।
महाधिवेशनका विषयमा असन्तुष्टि जनाइरहेका नेताहरूसँग पनि आफू निरन्तर संवादमा रहेको उनले बताए । ‘कतिपय कुरामा चित्त बुझाइरहनुभएको छैन, म उहाँहरूसँग संवादमा छु,’ उनले भने ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म काठमाण्डुमा केन्द्रीय महाधिवेशन हुने उनले बताए । उनले भने, ‘हामीसँग अब समयको सुविधा छैन, हामी संविधान, पार्टी विधान, विशेष महाधिवेशनले गरेको र अदालतले गरेको पनि बाँधिएका छौं । अदालतको फैसलामा पनि असोज १६ गतेबाट महाधिवेशन हुने भन्ने आधार बनाइएको छ । त्यसले पनि हामीहरू बाँधिएका छौं । थोरै समयमा काम गर्नुपर्नेछ ।’
महाधिवेशनमा प्रश्न उठ्न नदिने गरी निर्वाचन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिँदै उनले निर्वाचन समितिले बनाएको कार्यतालिकालाई सबैले पालना गर्नुपर्ने बताएका छन् । उनले भने, ‘प्रश्न नउठ्ने गरी अधिवेशन गर्नुपर्नेछ, आजबाट हाम्रो अधिवेशन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो ।’




प्रतिक्रिया