वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन् ।

भदौ ३० गते अपिल जारी गर्दै सभापति थापाले नेपालको संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानुनबमोजिम हुन लागेको महाधिवेशन पार्टीलाई एकताबद्ध र गतिशील बनाउँदै राष्ट्रका चुनौती सामना गर्न सक्ने बलियो कांग्रेस निर्माण गर्ने अवसर भएको बताए ।

उनले महाधिवेशनको पूर्वसन्ध्यामा देशभित्र र बाहिर रहेका पार्टीका सदस्य, समर्थक तथा शुभेच्छुकले पार्टीको बृहत्तर हितका लागि व्यक्त गरेको चासो, संवाद र सहमतिका लागि गरेको प्रयास तथा अधिवेशन प्रक्रियामा सक्रिय सहभागिताप्रति आभार व्यक्त गरेका छन् ।

महाधिवेशनमा सबैको सहज र उत्साहपूर्ण सहभागिता सुनिश्चित गर्न तथा कुनै पनि कांग्रेस सदस्य प्रक्रियाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले केन्द्रीय कार्यसमितिले पार्टीभित्र संवाद र सहमतिको वातावरण बनाउन अधिकतम प्रयास गर्दै आएको थापाले उल्लेख गरेका छन् ।

लोकतन्त्रमा फरक मत र पार्टीभित्र आन्तरिक मतभेद तथा असमझदारी हुन सक्ने भन्दै उनले त्यस्ता मतको सम्मान गर्दै संवाद, विधि र पद्धतिबाट समाधान खोज्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । नेपाली कांग्रेसमा फरक मतलाई स्वीकार गरी विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा रहेको उनको भनाइ छ ।

थापाले पार्टीको आन्तरिक जीवनमा सबै सदस्यको सहभागितामा हुने महाधिवेशनले फरक विचारलाई सम्मान र सम्बोधन गर्दै उपयुक्त विचारलाई अनुमोदन गर्ने बताए । महाधिवेशनमार्फत सामूहिक प्रयासबाट पार्टीलाई एकताबद्ध र गतिशील बनाउने उनको भनाइ छ ।

यसैबिच पार्टीका अग्रज नेता तथा विभिन्न तहका पदाधिकारी र सदस्यबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज सहभागिता गराउने निर्णय गरिएको उनले जानकारी दिए ।

निर्णयअनुसार सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यको नामावली टुंग्याइसकेको र केन्द्रीय निर्वाचन समितिले अधिवेशनका प्रक्रिया अघि बढाइसकेको थापाले बताए । निर्वाचन अधिकृतहरू जिल्लामा खटिइसकेको पनि उनले उल्लेख गरेका छन् ।

विशेष महाधिवेशनपछि हुन लागेको १५औँ महाधिवेशनमा पार्टीका सबै साथीको सहभागिता सुनिश्चित गर्न भदौ २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने गरी आवश्यक प्रबन्ध गरिसकेको थापाले बताए ।

उनका अनुसार पार्टी निर्णयसँगै तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा सुनिश्चित भइसकेका छन् । त्यसैले उनीहरू १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय सदस्यका रूपमा सहभागी हुने भएकाले कुनै अलमल वा द्विविधामा नपरी असोज ३ र ४ गते हुने वडा अधिवेशनलगायत निर्धारित कार्यतालिका अनुसारका अन्य तहका अधिवेशनमा सहभागी हुन उनले विशेष आग्रह गरेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाण्डुको खुलामञ्चमा हुने तय भएको छ । असोज ३ गते वडाबाट सुरु हुने अधिवेशन प्रक्रियालाई सबै तहका कार्यसमितिले पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै सौहार्दपूर्ण र हार्दिक वातावरणमा सम्पन्न गर्न थापाले अपिल गरेका छन् ।

उनले सम्पूर्ण तहगत कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुनसमेत आग्रह गरेका छन् ।