काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी पन्ध्रौँ महाधिवेशन सँगसँगै मिलेर गर्न आग्रह गरेका छन् ।
बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र एकता भइसकेकाले छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता नरहेको बताए ।
पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढ्न आफू आवश्यक त्याग र लचकता अपनाउन तयार रहेको उनले बताए । उनले भने, ‘मेरो सर्वोच्च नेता शेरबहादुर दाइलाई आग्रह गर्दछु, छुट्टै बसेर महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन । मेरो तर्फबाट अरू के त्याग गर्नुपर्छ, म तयार छु । म पार्टीको नेता भएपछि अरू थप विषयमा समेटेर लिएर जाने कुरामा केमा लचकता लिएर जानुपर्ने हो ? म तयार छु ।’
महाधिवेशनमा तल्लो तहका कार्यकर्ताले सहभागिता नजनाउने भन्ने भ्रममा नपर्न पनि उनले आग्रह गरे । उनले भने, ‘३ गतेको अधिवेशनमा तल वडामा रहेका साथीहरू भाग नलिऊँ भन्ने धेरै ठाउँमा सुनेको छु । यो अलमलमा नरहनु होला ।’
नेताहरूबिच मात्रै एकता भएर नपुग्ने भन्दै उनले पार्टीका तल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई समेत एकताबद्ध भएर महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् ।
उनले भने, ‘नेता एक भएर मात्र हुँदैन, तल्लो तहका कार्यकर्ता पनि एकजुट हुनुपर्छ । त्यसकारण जे–जे कारणले जस–जसले चित्त दुखाउनुभएको छ, एक ठाउँमा आइदिनुहोला ।’




प्रतिक्रिया