काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् ।
शनिबार परिवर्तन नेपाल नामक संस्थाले काठमाण्डुको नेपालटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा छ, देश बर्बाद भयो, झुर भयो भनेर भन्यो भने नपत्याउन आग्रह गरे ।
देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको स्वीकारेका महामन्त्री थापाले कुनै पनि विषय वा मुद्दाका सवालमा अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिए ।
एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गर्दै उनले अबको जिम्मेवारी विद्यार्थीहरूले लिनुपर्ने भन्दै ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’ भन्ने सन्देश दिए । उनले मुलुकै अडिएर बस्न, नयाँ कुरा सिक्न, प्रश्न र आलोचना गर्न पनि सुझाव दिए ।
आयोजक संस्थाका अगुवा एवम कांग्रेस नेता सुशील भट्टले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्न पाउँदा खुशी लागेको भन्दै नवयुवाहरूलाई प्रोत्साहित गर्न आफू सधैं तत्पर रहने बताए ।
प्रतिक्रिया