काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत देखाए पनि पछिल्लो समय बरालिएको बताएका छन् ।
बिहीबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पछिल्लो समय दिन गनेर बस्ने जस्तो देखिएको बताएका हुन् ।
उनले भने, ‘२ पार्टी मिलेर सरकार बन्दा सुरुमा गति पनि समातेको थियो । अहिले यो सरकार बरालिएको छ । दिन गनेर बस्ने जस्तो भएको छ । आईतबार गयो, सोमबार आयो । एक जनाले बोलिदिएपछि ढल्दैन, ढल्दैन भन्यो ।’
सरकार भनेको दिन गनेर बस्ने हो र भन्दै उनले प्रश्न गरे । उनले बेला–बेला प्रधानमन्त्रीले अब १ वर्ष मात्रै छु भन्दै बस्न नहुने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले अब १ वर्ष म हुन्छु, १ वर्षपछि कांग्रेसलाई हस्तान्तरण गर्छु, त्यो हिसाबकिताबको बारेमा अब कुरा नगरौं । सरकार भनेको दिन गनेर बस्ने हो र ? अनि हामी ३६५ घट्यो ३६४ भयो भन्दै हाम्रो पालो आयो भनेर औंला भाँच्दै बस्ने हो र ? हामीले सुन्न र गर्न चाहेको भनेको त यो एक वर्ष चाहिँ के गर्छौं हामी ? यो १ वर्ष नेपालले के पाउने ?’




प्रतिक्रिया