सरकारमाथि गगन थापाको आक्रोश : सांसदलाई हेपेको कुरा स्वीकार्य हुँदैन


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सांसदलाई हेपेको कुरा स्वीकार्य नहुने बताएका छन् ।

आज मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सांसदलाई जे गरे पनि हुन्छ भन्ने हिसाबबाट व्यवहार हुने गरिएकोमा असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘संसद्लाई जुन ढंगले व्यवहार गरिएको छ, सांसदलाई जुन ढंगले व्यवहार गरिएको छ, जे गरे पनि हुन्छ भन्ने ठानिएको छ, सम्माननीय प्रधानमन्त्रीजी, अब नयाँ ढंगले यी कुराहरु सामना गर्न तयार हुनुहोला । हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन ।’

सांसद थापाले विधेयकहरुबारे अब समितिमै छलफल गरिने बताए । मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी सरकारले विधेयक ल्याएकोमा थापाले विरोध गरे ।

थापाले भने, ‘राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरणको व्यवस्था कांग्रेसलाई स्वीकार्य छैन । कानूनमन्त्रीलाई आग्रह छ, २०७४ सालको नेकपा सरकारले गरेको ड्राफ्ट नबोक्नुस् ।’

यस्तो विधेयक ल्याउनु भनेको सरकारले सांसदलाई हेप्नु भएको थापाले बताए । उनले भने, ‘यसरी ऐन ल्याउनु भनेको हिजो पनि आज पनि सांसदलाई हेपेको हो । किनकि संसदीय व्यवस्थामा सरकारलाई मसँग बहुमत छ, जे ल्याए पनि पारित हुन्छ भन्ने लाग्छ, यो हामीलाई हेपेको हो, हामी हेपिने कि नहेपिने यसपालि देखाउनुछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement