गगन थापा र विश्वप्रकाशलाई संगीन आरोप : कांग्रेसको राजनीतिक मुद्दा सकिएकै हो ?


– खिबराज शर्मा

काठमाडौं – पछिल्लो समय नेपाली राजनीतिमा सत्याग्रह, डा. गोविन्द केसी र नेपाली कांग्रेस यी ३ एकै ठाउँमा आएका छन् । र, निशानामा छ दुईतिहाई प्राप्त ओली सरकार । राजनीतिक स्थायित्व विकास र समृद्धिका लागि जनताले नेपाल कम्यूनिस्ट पार्टीलाई रोजे । सोही अनुरूप सरकारको निर्माण भयो । सरकारले तुलनात्मक रूपमा राम्रो काममा अग्रसरता देखाउँदै छ ।

नेपाली कांग्रेस सत्ताबाट बाहिर बस्नु पर्दाको पीडा डा. गोविन्द केसी र गंगामाया अधिकारीलाई मोहरा बनाएर ओकल्दै छ । नेपालमा कम्यूनिस्ट मिलेको र कम्यूनिस्टले दुईतिहाई बहुमतको सरकार सञ्चालन गरेको स्वदेशी र विदेशी केही पक्षलाई पटक्कै रूचेको छैन । अहिले पनि विश्व व्यवस्थाको नाइके ठान्ने अमेरिका नेपालजस्ता अति गरीब देशको आर्थिक दरिद्रतालाई उपयोग गरी आफ्नो निर्धारित उद्देश्य पूरा गराउन चाहन्छ ।

त्यसका लागि विश्वका अन्य देशमा जस्तै नेपालमा पनि अमेरिका र यसका एलाइज राष्ट्रद्वारा फाइनान्स गरिएका विभिन्न अन्तर्राष्ट्रिय संस्थामार्फत् नेपाललाई अस्थिरतामा घुमाइरहने प्रपञ्चमा छन् । स्थिरताको जग बस्दै गरेको अवस्थामा सत्याग्रह नामको गोविन्द केसी मोहरा बोकेर नेपाली कांग्रेस तिनै विदेशी शक्तिको इच्छाअनुरूप ‘मूभ’ हुन खोज्दै छ ।

कांग्रेसको लोकतन्त्र कस्तो ?
नेपाली कांग्रेस लोकतन्त्रको अभ्यासमा आफूलाई कहाँनेर उभ्याउने हो ? गगन थापा र विश्वप्रकाशहरूले बताउनुपर्छ । संसदीय व्यवस्थाको प्रमुख व्याख्याता ठान्ने गगनहरूले विधिसम्मत् तरिका जनताबाट निर्वाचित जनप्रतिनिधिले गरेका निर्णय मान्ने कि व्यावसायिक नैतिकताबाट च्यूत कुनै दम्भी व्यक्तिलाई बोकेर गला दुख्ने गरी चिल्याउने ? जनता प्रश्न गर्छन् – कांग्रेसको आँखामा गोविन्द केसी को हुन् ?

अदालतले चिन्दा डा. केसीलाई सत्याग्रही चिन्छ कि राष्ट्र सेवक कर्मचारी ? उनको पहिचान के हो ? निश्चय नै नेपाल सरकारको कर्मचारी । सरकारी कर्मचारीले राज्यका नियम मान्नु पर्दैन ? सार्वभौम जनताबाट निर्वाचित सार्वभौम संसद्ले कुनै हठी व्यक्तिले भने अनुसारको नियम कानून बनाउनुपर्ने कहाँको संसदीय व्यवस्थाले भन्छ, माननीय गगन थापा ज्यू ? माननीय गगन थापाको प्रस्तूति शैली ठिक छ र घाँटी सुक्ने गरी कराउँदै संख्याको पछि नलागी सत्यको पक्षमा लाग्न आग्रह गर्छन् । सामाजिक विज्ञानमा माननीय ज्यू सत्य के हो ? फैंसला केका आधारमा हुन्छ ? यहाँलाई थाहा हुनुपर्छ । थापा माननीय ज्यू जनताका प्रतिनिधिको संख्याका आधारमा हुन्छ ।

राज्य सञ्चालन विधि पनि शुद्ध विज्ञान होइन भन्ने कुरा पहिला बुझियोस् । डा. गोविन्द केसीको हठ ‘राज्य मैले भने अनुसार चल्नुपर्छ’ भन्ने नै हो । लोकतन्त्र र कांग्रेस पर्यावाची सम्झने कांग्रेस महोदयलाई नम्र आग्रह छ कि जनताका प्रतिनिधिको दुईतिहाई संख्याले नेपालको शासनसत्ता सञ्चालन गर्ने कि एक हठी व्यक्तिको हठका आधारमा सञ्चालन गर्ने ? लोकतन्त्र केले मजबुत र सुदृढ गराउँछ माननीय ज्यू ? अर्को संगीन आरोप छ यहाँहरूलाई कि तपाईहरूको सरकार हुँदा के हेरेर बसेको ? गंगामायाका पतिको ज्यान कांग्रेसले होइन लिएको ? त्यतिबेला गगन कुमारहरूको आवाज किन बन्द भएको ? र, आफू सरकारमा रहँदा गोविन्द केसीको माग किन सम्बोधन नगरेको ? आम नेपालीको कांग्रेसप्रति आशंका छ । के कांग्रेसको राजनीतिक मुद्दा सकिएकै हो त ? मुद्दाविहीन कांग्रेस किनाराका छिद्रे मुद्दाको तहमा पुगेकै हो त ?

गोविन्द केसी र सत्याग्रह ?
राज्य संरचनाको फेरबदल र बाहिरी हस्तक्षेपविरूद्ध मूलतः सत्याग्रहको प्रयोग गरिन्छ । राज्य निरंकुश भयो, जनताका आधारभूत अधिकार खोसिए र ती प्राप्तिको लागि निष्ठावान व्यक्तिले शान्तिपूर्वक गरिने भोकअनशन जसले चारैतीर दबाब विकास गराउँछ । गलत बाटोमा हिँड्दै गरेको राज्यलाई सही मार्गमा फर्काउने तागत सत्याग्रहले गर्दछ ।

महात्मा गान्धीले भारतलाई बेलायती उपनिवेशबाट बाहिर निकाल्न सत्याग्रहको प्रयोग गरे । जसका कारण अंग्रेजहरू भारतबाट लखेटिए र स्वतन्त्र र सार्वभौम भारतको निर्माण भयो । सत्याग्रहको लागि मुद्दाको दायरा तुलनात्मक रुपमा फराकिलो हुनुपर्छ । सत्याग्रही व्यक्ती उच्च नैतिकताको हुनुपर्छ । नैतिकता भनेको दिएको जिम्मेवारी कसरी पूरा गर्ने गरेको छ ? वैधानिक नियम र कानूनलाई कति मान्ने गरेको छ ? जनताको सार्वभौम अधिकारलाई कति सम्मान गर्ने गर्दछ ? कति सहिष्णु छ ? लगायतका आधारमा समेत नैतिकता हेर्न सकिन्छ । सहिष्णुता भन्नाले कति व्यावहारिक छ, समझदार छ ? पद्दतिलाई कति सहयोग गर्छ भन्ने पनि हो ।

डा. गोविन्द केसी झण्डै ३ करोड नेपालीमध्ये १ नेपाली हुन् । त्यसपछि उनी नेपाल सरकारको कर्मचारी हुन् । त्यसमा पनि आन्दोलन हड्ताल बर्जित ‘स्वास्थ्य’ क्षेत्रका बिरामी र रोगी मानिसलाई उपचार गर्ने जिम्मेवारी समालेका १ वरिष्ठ डाक्टर हुन् । डा. केसी आफ्नो जिम्मेवारीबाट च्यूत र व्यावसायिक नैतिकताबाट स्खलित पात्र हुन् । किनकि, डा. सा’पले आफूलाई पटक–पटक आन्दोलनकारी र विद्रोही व्यक्तिको रूपमा उभ्याएका छन् ।

कुनै पनि कर्मचारी कुनै पनि अर्थमा विद्रोही हुनै सक्दैन । तर, डा. केसीले त्यो दम्भ देखाइरहेका छन । डा. केसी कस्तो प्रवृत्तिको मान्छे हुन् भन्ने कुरा उनकै सहकर्मी डा. भगवान कोइरालाले प्रष्ट भाषामा कान्तिपुर टेलिभिजनको एक लोकप्रिय कार्यक्रम ‘फायर साइड’मा व्यक्त गरेका छन् । एक प्रश्नको जवाफ दिने क्रममा कोइरालाले भिसी र केसीको चेपुवामा परेर महाराजगञ्ज शिक्षण अस्पतालको प्रमुख पदबाट राजीनामा गरेको तीतो अनुभव व्यक्त गरेका छन् ।

डा. केसीको प्रवृत्ति प्रष्टाउँदै उनी अगाडि भन्छन्, ‘डा. केसी मेरो सहकर्मी हुन् । जब म महाराजगञ्ज शिक्षण अस्पताललाई सुधार्दै थिए । सबै वरिष्ठ प्रोफेसरहरूले निक्कै सहयोग गरिरहनुभएको थियो । तर, डा. केसीको मागपछि नयाँ माग राखेर नारा–जुलुस गरेर पूरै असुहिष्ण व्यवहारका कारण मैले राजीनामा गरेको । ती दिनहरू मेरा लागि यति पीडादायक रहे र यति रोएँ कि १ चिकित्सक अनि सिंगो अस्पतालको प्रमुख व्यवस्थापक, डा. केसीको अन्दोलनका कारण बिरामीले लिँदै गरेको स्लाइन नली चुडाउने, सिकिस्त बिरामी नजाँच्ने जस्ता कर्महरू भए । जुन निक्कै लज्जाका विषय र पीडादायक थिए ।

मैले राम्रो काम गरिरहेको थिए । महाराजगञ्ज शिक्षण अस्पताललाई गंगालाल हृदयरोग केन्द्रको स्तरमा उठाउने गरी काम गर्दै थिए । तर, डा. केसीका कारण राजीनामा दिए ।’यी भनाई र भाव नेपाली जनताका ‘भगवान’ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाका हुन् । यसबाट डा. केसीको यस्तो तस्वीर स्केच हुन्छ कि उनी दम्बी हुन्, असहयोगी हुन्, मुढी हुन् र एक नम्बरका घमण्डी हुन् । डा. केसी निहीत योजनामा परिचालित छन् । डा. केसीमा सिम्प्लीसिटी छ । उनको जीवन जीउने कलामा बढप्पन छैन । यो उनको सहायक विशेषता हो ।

केसीको सेकेन्डरी भ्याल्यूलाई बोकेर राजनीतिक एजेण्डा समाप्त भएको नेपाली कांग्रेस तंग्रिने मनोदशामा देखिँदै छ । यसर्थ, डा. केसी मुद्दाको कोणबाट, व्यावसायिक नैतिकताको कोणबाट र यिनको समूल चरित्रका कारण साँचो अर्थको सत्याग्रही होइनन्, नेपाललाई अस्थिरतामै राख्न चाहने शक्ति केन्द्रका स्थानीय मोहरा मात्रै हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement