काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको आन्तरिक विवादमा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन्।
उनले अर्कातिर कांग्रेसका नाममा अलग्गै समूह चलाएका पूर्वसभापति शेरबहादुर देउवालाई आफ्नो राजनीतिक कद र मर्यादाअनुसार अभिव्यक्ति दिन सुझाएका छन्।
मंगलबारदेखि सुरू केन्द्रीय कार्यसमिति बैठकलाई सानेपामा सम्बोधन गर्दै सभापति थापाले रास्वपाको आन्तरिक विषयमा आफूहरूको चासो नरहेको स्पष्ट पारे। पार्टीको महाधिवेशनसम्बन्धी दस्तावेजमै यस विषयमा स्पष्ट धारणा राखिएको उल्लेख गर्दै उनले रास्वपाभित्रको विवादमा कांग्रेस नपस्ने बताए।
‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनै पनि खालका समस्याभित्र पस्दै पस्दैनौँ। हामीलाई रुचि पनि छैन, हामी कुनै कचकच गर्दैनौँ, कुनै उपद्रोमा सहभागी पनि हुँदैनौँ,’ थापाले अगाडि भने।
उनले मुलुकको राजनीतिक व्यवस्था सञ्चालनमा सरकार र प्रतिपक्ष दुवैको आ–आफ्नै जिम्मेवारी हुने बताए। प्रतिपक्षी दलहरूबीच गठबन्धन बनाएर अघि बढ्ने पक्षमा पनि कांग्रेस नरहेको उनको भनाइ थियो।
कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेकाले सरकारसँगको सम्बन्ध मुद्दा र आवश्यकताका आधारमा तय हुने थापाले स्पष्ट पारे।
‘हामी प्रस्ट छौँ, हामी प्रमुख प्रतिपक्षको जिम्मेवारीमा छौँ। जहाँ सरकारसँग हातेमालो गर्नुपर्छ, त्यहाँ हातेमालो गर्छौँ। जहाँ सरकारलाई खबरदारी गर्नुपर्ने हो, त्यहाँ खबरदारी गर्छौँ। जहाँ सरकारलाई प्रश्न सोध्नुपर्ने हो, त्यहाँ प्रश्न सोध्छौँ,’ उनले भने।
थापाले पूर्वसभापति देउवाका पछिल्ला सार्वजनिक अभिव्यक्तिमा असन्तुष्टि पोखे। देउवा पार्टीका अभिभावक र वरिष्ठ नेता भएकाले उनले आफ्नो राजनीतिक उचाइ र मर्यादाअनुसार अभिव्यक्ति दिनुपर्ने थापाले बताए।
देउवाकै सभापतित्वमा आफूहरूले पार्टीको कार्यसमितिमा काम गरेको स्मरण गर्दै थापाले राजनीतिक विषयमा असहमति हुनु स्वाभाविक भए पनि त्यसलाई मर्यादित ढंगले व्यक्त गर्नुपर्ने बताए।
विशेष परिस्थितिमा पार्टी विधानअनुसार विशेष महाधिवेशन गरिएको उल्लेख गर्दै उनले कसले के भन्यो भन्नेभन्दा देउवाजस्तो वरिष्ठ नेताले आफ्नो राजनीतिक कदअनुसार बोल्नुपर्नेमा जोड दिए।
थापाले जेन-जी आन्दोलनका क्रममा देउवाको घर गगन थापाले जलाएको हो भनेर सोधिएको प्रश्नमा देउवाले टाउको हल्लाएर सहमति जनाएको एउटा भिडियो आफूले हेरेको प्रसंग पनि सुनाए।
‘त्यो उमेर र कदको नेताको बोली राजनीतिक हुनुपर्छ। असहमति पनि राजनीतिक हुनुपर्छ। सीमा र मर्यादाभित्र हुनुपर्छ,’ उनले देउवालाई भने।
देउवाका सार्वजनिक अभिव्यक्तिप्रति आफ्नो असन्तुष्टि गुनासोका रूपमा नभई उनीप्रतिको प्रेम र चिन्ताका कारण व्यक्त गरेको थापाले बताए। ‘उहाँ अग्लो हुनुहुन्छ, उचाइमै बस्नुस्। तपाईंले आफ्नो हैसियत कायम गर्नुस्,’ उनले भने।
कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतमा चलखेल भएको भन्ने देउवाको अभिव्यक्तिप्रति पनि थापाले प्रश्न गरे। अदालतमा कसले वारेस राखेको छ भन्ने विषय खोज्न आग्रह गर्दै उनले राजनीतिक विषयमा बोल्दा मर्यादा र सीमाको ख्याल गर्न देउवालाई सुझाए।



प्रतिक्रिया