२०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ : महामन्त्री थापा


बुटवल – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०४६ सालपछि उच्च ओहोदामा बसेर अवैधानिक ढंगले सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेका छन् ।

आज शनिबार कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमा बोल्दै महामन्त्री थापाले संसद्मा आफ्नै पार्टीले नेतृत्व गरेर उच्च ओहोदामा बसेर अख्तियारको दुरुपयोग गरेर अकुत कमाएकाहरूको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

‘भ्रष्टाचार गर्ने मान्छे जोसुकै होस्, दोषी छ भने उसलाई कसैले जोगाउन सक्दैन । निर्दाेष छ भने कसैलाई केही हुँदैन । नेपाली कांग्रेसले यो बेला सबैले निर्धक्क भएर यो कुरामा विश्वास गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘२०४६ साल पछाडि उच्च ओहोदामा बसेर जसले अवैधानिक ढंगले सम्पत्ति कमाएको छ, उसको सम्पत्ति छानबिन गरौं । जसले अनियमित ढंगले सम्पत्ति कमाएको छ, उसले सम्पत्ति खोसेर कानूनको दायरामा ल्याउनुपर्छ । यसको नेतृत्व कांग्रेसले गर्ने कि नगर्ने ?’

उनले कांग्रेसमा समाज र देशका लागि भएको सम्पत्ति गुमाएर काम गर्ने नेता–कार्यकर्ताको खाँचो नभएको बताए । ‘गाउँगाउँमा कांग्रेसका साथीहरूले खानेपानीदेखि सडकसम्म सार्वजनिक काममा आफ्नो सम्पत्ति खर्च गरेर काम गर्नुभएको छ, कांग्रेसले भ्रष्टाचार गर्दैन, भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास दिलाउन हामीले अगुवाइ किन नलिने ?’ उनले भने ।

अहिले कांग्रेस सहितको गठबन्धन सरकार भएको भन्दै उनले सरकारलाई जनताको सवालमा केन्द्रित भएर काम गर्न आग्रह गरे । ‘अहिले वडादेखि केन्द्रसम्म कांग्रेस सरकारमा छ तर केन्द्र सरकारको नेतृत्वमा कांग्रेस छैन । हामीले प्रधानमन्त्रीलाई भेटेर पटक–पटक जनजीविकाको सवालमा केन्द्रित हुन ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘सहकारीमा समस्या छ, सरकारले अध्ययन गरेर रिपोर्ट पनि बनाएको छ तर रिपोर्टमा दिइएको विज्ञको सुझावअनुसार काम भएको छैन । हरेक क्षेत्रमा त्यस्तै समस्याहरू छन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement