प्रचण्ड नेतृत्वको सरकार माघसम्म नटिक्ने कांग्रेस महामन्त्री थापाको ठोकुवा


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किन सक्ने ठोकुवा गरेका छन् ।

आज इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको सत्ता गठबन्धन निर्माणबाट पनि चुनावअघिको गठबन्धन बेइमानी रहेको पुष्टि हुने बताएका छन् ।

उनले भने, ‘म कसम खाएर भन्दिनँ तर म दाबी गरेर इलामेली जनताको अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु ।’

महामन्त्री थापाले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाइ गर्ने बेला आएको बताए । चुनावअघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको उनको भनाइ छ ।

उनले थपे, ‘चुनावको अघिको गठबन्धन बेइमानी हो । चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो । चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो । त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement