७ बुँदे सहमति प्रधानमन्त्रीले संसद्मा पढेर सुनाउनुपर्छ : महामन्त्री थापा

७ बुँदे सहमति प्रधानमन्त्रीले संसद्मा पढेर सुनाउनुपर्छ : महामन्त्री थापा


काठमाण्डु-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति प्रधानमन्त्रीले संसद्मा पढेर सुनाउनुपर्ने बताएका छन् ।

४२औं विपी स्मृति दिवसका सन्दर्भमा ओयोजित कार्यक्रममा महामन्त्री थापाले कांग्रेस–एमालेबीच भएको सहमतिका बुँदा प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिने क्रममा पढेर सुनाउनुपर्ने बताएका हुन् ।

‘हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले भोलि राष्ट्रको नाममा, अथवा विश्वासको मत लिँदै गर्दा संसद्मा आफ्नो कुरा राख्दै गर्दा ७ बुँदे सहमति सुनाउनु पर्छ,’ उनले भने ।

महामन्त्री थापाले कांग्रेस–एमालेबीच भएको समझदारी आफूहरूबाट नतोडिने पनि बताए । उनले प्रधानमन्त्री ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसलाई छोडिदिने सहमति रहेको पनि बताए । बेला–बेलामा भएको सहमति कार्यान्वयन नभएको र पार्टीभित्र पनि

कहिले काँही कांग्रेस–एमालेबीचको सहमति कार्यान्वयन हुन्छ त ? भन्ने प्रश्न उठिरहेको उनले बताए । थापाले एमालेसँग मिल्नुको औचित्य कांग्रेसले पुष्टि गर्न सक्नुपर्ने पनि बताए । एमालेसँगको गरेको सहकार्यको औचित्य कामबाट पुष्टि गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘म सबैलाई सधैंभरी झुक्याउन सक्छु भन्ने भ्रम प्रचण्डले नपालेको भए अहिलेको यो सरकार बन्दैनथ्यो । उहाँको चकचककै कारणले यो परिस्थिती निर्माण भएको हो । त्यसैले एमालेसँग साझेदारीको परिस्थिती निर्माण भयो ।’