काठमाण्डु– नेपाली कांग्रेसका सांसद गगन थापाले भुटानी शरणार्थी, गिरीबन्धु र विद्युत मस्यौदा असुलीमा तलमाथि गर्न नहुने बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकको विशेष समयमा बोल्दै थापाले भुटानी शरणार्थी प्रकरणमा हालसम्म भएका अनुसन्धानमा नै टेकेर थप अनुसन्धान गर्नु पर्ने, सर्वोच्च अदालतले दिएको आदेश अनुसार गिरीबन्धुका मुद्दा टुङ्ग्याउने पर्ने र विद्युत महशुल बक्यौता कानुन अनुसार असुल गर्नुपर्नेसमेत जनाएका छन् ।
उनले भने ‘हिजो हामी प्रतिपक्षमा बस्दा जे–जे बोलेका छौं, यतापट्टि कुर्सी (सत्तापक्ष)मा बस्दा पनि त्यही विषय उठाउने छौ, भुटानी शरणार्थी, गिरीबन्धु र विद्युत मस्यौदा शुल्कका बारेमा उहीँ धारणा रहेको छ, यसको सत्यतथ्य छानबिन हुन्छ ।’
उनले यी तीनै विषयलाई सरकारले सत्यतथ्य रुपमा छानबिन गर्नुपर्नेमा जोड गरेका छन् ।
उनले हरेक दिन समाचारमा मन्त्रीहरूका भाषण आउने पनि बताए।
‘हरेक दिन म यस्तो गरिदिन्छु भनेको छ, अरे बाबा, गर्ने ठाउँमा भएपछि त काम गर्ने हो नि!,’ महामन्त्री थापाले भने, ‘हामी अहिले बोल्ने ठाउँमा छौं, बोल्ने हो। मन्त्रीजीहरू काम गर्ने ठाउँमा हुनुहुन्छ। प्रत्येक दिन मन्त्रीजीहरूको भाषण सुनिराखेको छु, हामी देश विकास गर्न आएको हो, हामी चमत्कार गर्छौं, अरे बाबा, गरिदिनुस् न!’
मन्त्रीहरूले एउटा मात्रै काम गरे त्यसको पाँच गुणा ज्यादा प्रचार आफूहरूले गर्ने पनि थापाले बताए।
प्रतिक्रिया