काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वालेन्द्र नेतृत्व सरकार लफङ्गो पारामा चलिरहेकाे आराेप लगाएका छन् । वर्तमान सरकारका सय दिनबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिन्ता गर्नुपर्ने विषयमा पनि सरकारका मन्त्रीहरूबाटै आपत्तिजनक विषयहरू बोल्ने गरेको बताएका हुन् ।
उनले भने ‘हाम्रा विविधतालाई सम्बोधन गर्ने विषय सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । तर यी विषयहरूलाई बडो हल्का पाराले, म त भन्छु बडो लफङ्गो पाराले, जे मन लाग्छ, त्यही बोलिदिएको छ, जे मन लाग्छ त्यही गरिदिएको छ । यो अर्को एउटा चिन्ताको विषय हो,’ ।
सरकारले विधि र प्रक्रिया भन्दा परिणाम दिन्छु भन्दै कानुन विपरीतका काम गर्न उद्धत रहेको बताए ।
‘अहिले पनि प्रदेशको नामहरूको बारेमा समस्या छ । मुद्दाहरू छन् नि त । यो विषयहरूको सन्दर्भ नबुझिकन यसलाई बडो हल्कासँग, अहिले जुन सरकारको म बेला बेलामा देख्छु, एउटा मन्त्रीले आउनुभएको छ एउटा कुरा बोलिदिनुभएको छ, एउटाले एउटा थपिदिएको छ, अर्कोले एउटा ठोकिदिएको छ, अर्कोले एउटा खारेज गरिदिएको छ, त्यो सरकार सञ्चालन गर्ने दलकै साथीहरूको पनि फरक फरक कुराहरू आएको छ ।’
आफूहरू संविधान संशोधनको पक्षमा भएको तर यसलाई हचुवाको भरमा गर्दा एकैछिनमा आगो बाल्नसक्नेतर्फ उनले सरकारलाई सचेत गराए ।
‘हामी संविधान संशोधन गर्ने पक्षमा नभएको होइन । बकाइदा गर्नुपर्ने छ । पुनरावलोकन गर्नुपर्ने छ । तर यसरी होइन, यस्तो हचुवा पाराले होइन । यहाँ त एकैछिनमा आगो बल्छ,’ थापाले भने, ‘अधिकारको विषय त्यतिबेलासम्म गौण हुन्छ, जतिबेलासम्म अधिकार प्राप्त भइरहेको हुन्छ । तर अधिकारको विषय चलाइयो भनेको बेलामा सबैभन्दा बढी महत्वपूर्ण विषय त्यतिबेला नै बन्छ । भाषाको विषय सबैभन्दा बढी महत्त्वपूर्ण विषय बन्छ । समावेशीताको विषय सबैभन्दा बढी महत्वपूर्ण विषय बन्छ ।’




प्रतिक्रिया