काठमाण्डु– नेपाली कांग्रेसले निर्वाचनपछि अपेक्षाअनुसार गति लिन नसकेको सेयर बजारको अवस्थाबारे विज्ञहरूसँग परामर्श थालेको छ ।
पार्टी सभापति गगन थापाले आर्थिक विषयमा पार्टीभित्र र संसदमा प्रभावकारी बहस गर्न कर्मचारी तथा सांसदलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले विज्ञसँग छलफल अघि बढाइएको बताए ।
आइतबार आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक सिरिज’को तेस्रो शृङ्खलामा सेयर बजारका विज्ञहरूसँग छलफल गर्दै थापाले निर्वाचनपछि बजारमा उत्साह आउने अपेक्षा गरिए पनि त्यसअनुसार सुधार हुन नसकेको स्वीकार गरे ।
उनका अनुसार सेयर बजारमा देखिएका समस्या, चुनौती र तत्काल गर्नुपर्ने सुधारबारे विज्ञहरूको सुझाव लिन छलफल आयोजना गरिएको हो ।
थापाले निर्वाचनपछि बजारले राम्रो गति लिने अपेक्षा रहे पनि व्यवहारमा त्यस्तो हुन नसकेको भन्दै यसको कारण पहिचान गरी समाधान खोज्नुपर्ने बताए ।
कांग्रेसले पछिल्लो समय आर्थिक तथा वित्तीय विषयलाई पार्टीको नीति र संसद्को बहसमा प्राथमिकताका साथ उठाउने तयारी गरिरहेको जनाएको छ।
थापाले सुवर्ण शमशेर इकोनोमिक सिरिजलाई तीन वटा क्याटगोरीमा विभाजन गरेर सञ्चालन गरिने बताए ।
सुझावहरूको आधारमा एउटा प्रतिवेदन तयार पारिने र त्यो प्रतिवेदन पार्टीका सांसदहरूलाई उपलब्ध गराइने थापाले बताए । ‘हाम्रा सांसदहरूले संसदमा कुरा उठाउँदा तथ्यमा आधारित भएर उठाउन सकुन् भनेर हामीले यो गृहकार्य गरेका हौँ,’ थापाले भने ।
डा.गोविन्द पोखरेलले संयोजन गरेको कार्यक्रममा अर्थशास्त्रीहरू, पुँजी बजारका विज्ञ र पार्टीका नेताहरूको सहभागिता थियो ।




प्रतिक्रिया