‘हामीलाई देशभर खुलामञ्च चाहिएको छ, संसद् र सिंहदरबार पनि खुला हुनुपर्छ’

‘हामीलाई देशभर खुलामञ्च चाहिएको छ, संसद् र सिंहदरबार पनि खुला हुनुपर्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले संसद र पार्टीभित्र पर्याप्त खुलापन नभएको भन्दै देशभर ‘खुलामञ्च’को संस्कार विकास गर्नुपर्ने बताए।

‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भने।

थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्र नभएको बताए। नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका खेलेको र यही ठाउँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उनले स्मरण गरे।

‘खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन,’ उनले भने, ‘यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्।’

जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत खुलामञ्चबाट राजनीतिक सम्बोधन गरेको स्मरण गर्दै थापाले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने संस्कारमा खुलामञ्चको भूमिका रहेको बताए।

‘खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ,’ उनले भने।

‘पहिले संसद र सिंहदरबार खुला हुनुपर्छ’

थापाले देशका विभिन्न ठाउँमा खुला संवादका थलो आवश्यक रहेको बताए। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको उनको भनाइ थियो।

‘संसद् अहिले खुला छैन। प्रधानमन्त्रीले जनताको कुरा नसुनेसम्म खुला रहँदैन,’ उनले भने ।सत्तामा रहेकाहरूले जनताका प्रश्न सुन्न र उनीहरूसँग संवाद गर्नुपर्ने भन्दै थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुने बताए।

संसद् जनताको आवाज र प्रश्न प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई थप खुला, उत्तरदायी र जवाफदेही बनाउनुपर्ने उनको भनाइ थियो।

‘नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्’

थापाले पार्टीभित्र पनि खुला बहस र प्रश्न गर्ने संस्कार विकास गर्नुपर्ने बताए। नेतृत्वमाथि प्रश्न उठाउँदा पार्टी सदस्यता नै गुम्ने अवस्था लोकतान्त्रिक अभ्याससँग मेल नखाने उनको धारणा थियो।

‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उनले भने।

फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई राजनीतिक दलभित्रै संस्थागत गर्नुपर्नेमा उनले जोड दिए। लोकतन्त्रलाई बाहिर मात्रै खोजेर नहुने भन्दै थापाले दलहरूको आन्तरिक संरचना र कार्यशैलीसमेत लोकतान्त्रिक हुनुपर्ने बताए।

पहाडदेखि तराईसम्म तथा भौतिक स्थानदेखि विद्युतीय माध्यमसम्म नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

१० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु खुला संवाद र जनतासँगको सम्बन्धलाई पुनः स्थापित गर्ने प्रतीक भएको थापाले बताए।

खुलामञ्च राजनीतिक सभा गर्ने ठाउँमा मात्रै सीमित नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदानको खुला थलो बन्नुपर्ने उनले बताए।