देउवासहितका नेताहरूलाई गगनको आग्रह, ‘दुई हात जोडेर भन्छु, पार्टीमा फर्किनुस्’

देउवासहितका नेताहरूलाई गगनको आग्रह, ‘दुई हात जोडेर भन्छु, पार्टीमा फर्किनुस्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले पार्टी निर्माणमा लामो समय योगदान गरेका नेताहरू १५औँ महाधिवेशनमा सहभागी नहुँदा आफूलाई नमीठो लागेको बताएका छन्।

महाधिवेशनको बन्द सत्र समापनलाई बुधबार साँझ सम्बोधन गर्दै थापाले पूर्वसभापति शेरबहादुर देउवासहित महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पार्टीको एकताका लागि फर्किन आग्रह गरे।

‘नआउनुभएका नेतालाई आग्रह गर्छु। अझै दुई हात जोडेर आग्रह गर्छु। हामी सबैले मिलाएर बनाएको पार्टी हो। श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवाले पार्टी निर्माणमा योगदान गर्नुभएको छ। अरू नेताको पनि योगदान छ। उहाँहरू यहाँ नआउँदा नमीठो लागेको छ,’ थापाले भने।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा अदालतबाट पटक–पटक आदेश आएको उल्लेख गर्दै उनले अब विवादलाई टुंग्याएर पार्टीलाई अघि बढाउनुपर्ने बताए।

‘आठौँपटक हो जस्तो लाग्छ। संवैधानिक इजलासमा लानुपर्ने निवेदनलाई हिजो फेरि सर्वोच्च अदालतले दरपीठ गरिदियो। त्यसैले अब धेरै कुरा अगाडि बढिसकेपछि च्याप्टर क्लोज गरौँ,’ उनले भने।

थापाले पार्टीभित्र नेताहरूलाई सम्मान गर्दै एकताको वातावरण बनाउनुपर्ने बताए। सभापतिको जिम्मेवारी पाए पार्टीलाई मिलाएर अघि बढाउने उनको दाबी थियो।

‘नेतालाई सम्मान गर्ने, जोड्ने कुरामा लाग्छौँ। गनगन गर्ने, चलाउने कुरामा नअलमलिऔँ। मिलाउने कुरामा जे गर्न सकिन्छ, लागौँ। सभापतिको जिम्मा तपाईंहरूले दिएपछि मिलाउने जिम्मा मेरो हुनेछ,’ उनले भने।

‘सामाजिक सञ्जालमा तथ्य र तर्क होइन, इमोसन बिक्छ’

थापाले सामाजिक सञ्जालमा बहुविचारको स्वस्थ प्रतिस्पर्धा हुन छोडेको बताएका छन्। उनले तथ्य र तर्कभन्दा भावनात्मक विषयले बढी प्रभाव पार्ने अवस्था बनेको बताए।

‘अभिव्यक्ति स्वतन्त्रताको माध्यम सामाजिक सञ्जाल भएको छ। तर, सामाजिक सञ्जालमा बहुविचारको प्रतिस्पर्धा हुँदैन। तथ्य, तर्क होइन, सामाजिक सञ्जालमा इमोसन बिक्छ,’ थापाले भने।

पुराना राजनीतिक दलप्रति वितृष्णा बढाउने भाष्यका कारण धेरै मानिस पार्टीबाट बाहिरिएको उल्लेख गर्दै उनले कांग्रेससामु ठूलो चुनौती रहेको बताए।

‘पुराना पार्टी चाहिँदैन भनेर भाष्य बनेपछि थुप्रैले छोडेर गएका छन्। हामीमाथि ठूलो टास्क छ। सगरमाथा जत्तिकै चुनौती आएको छ। सचेत भएर लाग्नुहोला,’ उनले भने।