काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफू वा पार्टीका तर्फबाट कुनै पनि आर्थिक लेनदेन तथा अनुचित गतिविधि नभएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत श्रव्य सामग्री सार्वजनिक गर्दै थापाले इनम सापकोटासँग जोडिएको अडियो प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्।
उनले सार्वजनिक भएको अडियो कहाँ, कहिले, कसले र कुन परिस्थितिमा बोलेको हो भन्ने आफूलाई जानकारी नभएको स्पष्ट पारेका छन्। अडियोमा आफ्नो नाम जोडिएको विषयमा थप स्पष्टीकरण दिइरहन आवश्यक नभए पनि सार्वजनिक रूपमा आफ्नो धारणा राखेको उनको भनाइ छ।
पार्टीको आधिकारिकतासम्बन्धी विषयमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार नै केन्द्रीय कार्यालयबाट पार्टीको धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै थापाले यस प्रकरणलाई बदनियतपूर्ण हल्लाको संज्ञा दिएका छन्। उनले पार्टी र नेतृत्व सबै प्रकारका अनुसन्धानका लागि तयार रहेको पनि बताएका छन्।
पार्टीको राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक कारोबार नभएको दाबी गर्दै थापाले भने, ‘नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा रुपैयाँ होइन, एक सुका पनि कुनै आर्थिक लेनदेन वा अनुचित काम भएको छैन।’
उनले अडियो प्रकरणमा आफूलाई प्रश्न गर्नुभन्दा अनुसन्धान गर्ने निकायसँग प्रश्न गर्न सञ्चारमाध्यम तथा सरोकारवालालाई आग्रह गरेका छन्। सापकोटासँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन गरी संलग्न सबै पक्षको भूमिका स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।
‘अनुसन्धान निष्पक्ष हुनुपर्छ । दूधको दूध, पानीको पानी छुट्टिने गरी छानबिन हुनुपर्छ,’ थापाले भने।
अडियो सार्वजनिक भएपछि आफू डराएर राजनीतिक भेटघाटमा सक्रिय भएको भन्ने प्रचारप्रति पनि उनले आपत्ति जनाएका छन्। मधेस प्रदेश सरकारको विश्वासको मतसम्बन्धी विषय र अन्य राजनीतिक संवादका क्रममा विभिन्न दलका नेताहरूसँग भेटघाट भएको उनले स्पष्ट पारेका छन्।
थापाका अनुसार उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक विषयमा भेटघाट गरेका थिए। ती भेटघाटलाई अडियो प्रकरणसँग जोडेर व्याख्या गर्नु उचित नभएको उनको भनाइ छ।
यसैबीच, थापाले वर्तमान सरकारले पाँच वर्षका लागि पाएको जनादेशलाई सम्मान गर्ने बताउँदै विपद्पछिको पुनःस्थापना, घरबारविहीन नागरिकको व्यवस्थापन, अर्थतन्त्र सुधार, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिन सुझाव दिएका छन्।
सरकारले सही काम गर्दा कांग्रेसले सहयोग गर्ने र गलत काम गर्दा प्रश्न उठाउने उनले बताएका छन्। लोकतान्त्रिक अधिकार खुम्च्याउने वा राज्यका संस्थाहरूलाई कमजोर बनाउने प्रयास भए आफूहरू चुप लागेर नबस्ने उनको चेतावनी छ।
‘ठीक कुरामा साथ दिने कुरा पनि बन्द हुँदैन, गलत कुरालाई प्रश्न गर्ने र प्रतिवाद गर्ने कुरा पनि बन्द हुँदैन,’ उनले भने।
आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको दाबी गर्दै थापाले आफ्नो हात सफा रहेको र कुनै अनैतिक काममा संलग्न नभएको बताएका छन्। आफूविरुद्ध पटकपटक प्रायोजित प्रचार तथा चरित्रमाथि प्रश्न उठाउने प्रयास भए पनि त्यसबाट विचलित नहुने उनको भनाइ छ।
लोकतन्त्रमा प्रश्न गर्ने अधिकार सुरक्षित रहनुपर्नेमा जोड दिँदै थापाले प्रश्न गर्ने प्रवृत्ति कमजोर भए लोकतन्त्र र मुलुकको प्रगति दुवै प्रभावित हुने बताएका छन्।
‘प्रश्न गर्ने अधिकार मर्नु हुँदैन । प्रश्न मरे लोकतन्त्र मात्र होइन, हाम्रो प्रगति पनि रोकिन्छ,’ उनले भने।


प्रतिक्रिया