देउवालाई असफल बनाएर हामी सफल हुँदैनौंः गगन थापा (अन्तर्वार्ता)


नेपाली कांग्रेसको महाधिवेशन सुरु भएको छ । भदौ १८ गतेबाट देशका वडाहरुमा अधिवेशन चलिरहेको छ । कांग्रेसमा उम्मेद्वार बन्न आफु निकटका गुटहरुमा छलफल गर्न नेताहरु व्यस्त छन् ।

सभापति शेरबहादुर देउवाले फेरीपनि सभापतिमै दाबी गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले देउवालाई काउन्टर दिन साझा उम्मेद्वार तय गर्ने बताइसकेपनि अहिलेसम्म उम्मेद्वारको टुङ्गो लगाउन सकेको छैन् । वडामा देखिएको परिणामले युवापुस्ता नेतृत्वकालागि अग्रसर भएको संकेत देखिएको छ ।

युवाहरु पछाडि परेको पार्टी भन्ने बुझाइ हुँदा तल्लो तहको नेतृत्वमा युवाहरु आउँदा युवापुस्ताहरु आशावादी बनेका छन् । केन्द्रको नेतृत्वमा पनि युवाहरुले दावी गरेका छन् । सभापति शेरबहादुर देउवा निकट मानिएका विमलेन्द्र निधिले देउवालाई नै छाडेर नेतृत्व लिकालागि आफु सक्षम रहेको घोषणा गरिसकेका छन् भने पार्टीमा प्रवक्ताको जिम्मेवारीमा रहेका विश्वप्रकाश शर्मा र युवा नेताहरु गगन थापा र प्रदिप पौडेलले महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । प्रस्तुत छ उनै थापासँग गरिएको कुराकानीकाे सम्पादित अंश :

फेरी पनि महामन्त्रीमा उमेद्वारी दिन लाग्नुभएछ ?

मैले अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेको हो ।अघिल्लो पटक जितेको भए अहिले सभापतिमा दाबी गर्थे र यो पद नयाँ साथिहरुकालागि खाली हुन्थ्यो ।यो बिचमा म धेरै जिल्ला घुमें, पार्टीका काम गर्दै जाँदै साथीहरुसँग पनि छलफल भयो । बहुसंख्यक साथीहरु जो यो पटक महाधिवेशन प्रतिनिधि बन्दै हुनुहुन्छ । धेरै साथीहरुले यसअघि महामन्त्रीमा तपाईलाई मत दिन सकेनौं, दिएनौं, बेला भएको थिएन वा हामीले गलत गर्यौं ।

अग्रज नेताहरुले यो महाधिवेशनमा तिमिलाई महामन्त्री बनाउने हो तर, फेरी उत्ताउलो भएर सभापति नलड भन्ने सुझाव दिनुभयो । म उहाँहरुको सुझावकै आधारमा उमेद्वार बनेको हुँ । मैले अघिल्लो पटक महामन्त्री प्रतिष्पर्धा गरिसकेकाले म सँग दुई वटा विकल्प थिए सभापति या महामन्त्रीमा दोहोर्याउने । मेरो अन्र्तमनले यो पटक साथीहरुको कुरा सुन्छु मान्छु । मैले आफ्नो कुरा भन्दा साथीहरुको निर्देशन मानेको हो ।

महामन्त्रीमा धेरैले उमेद्वारी दिने उद्घोष गर्नुभएको छ एउटै पुस्ताका नेताबीच प्रतिष्पर्धा कस्तो होला ?

यो त झन राम्रो भयो मलाई स्वभाविक लागेको । एउटै उमेर समूहका साथीहरुबीच आज महामन्त्रीमा, भोली सभापति र पदाधिकारीमा प्रतिष्पर्धा हुन्छ । मैले यसलाई स्वभाविक रुपमा लिएको छु । अघिल्लो पटक म महामन्त्री नलडेको भए अहिले हामी युवा भन्नेहरुको थान्को लाग्ने ठाउँ त्यही सह–महामन्त्री हुन्थ्यो । कोही पनि महामन्त्रीमा बोल्नेवाला थिएनन् ।

त्यो मनमा पनि आउँदैन थियो । किनभने हाम्रो पार्टीको संरचनामा हामीलाई यति पुछारमा राखिएको छ । कोही बोल्नेवाला थिएन् । अहिले पनि मैले मुख खोलेपछि सबै साथीहरुमा आँट आएको छ । अघिल्लो पटक म लडेर सजिलो बनाएँ । अहिले बोलेर सजिलो बनाएँ । साथीहरु मैदानमा आउनु भएको छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल उस्तै उस्तै उमेर समूहको त हो । उहाँहरुबीचमा प्रतिष्पर्धा भए जस्तै हाम्रो पनि हुने हो ।

तपाईको उमेद्वारी के का लागि ?

१२ औं महाधिवेशनमा शुशिल कोइरालाको नेतृत्वमा हामी एक ठाउँमा थियौं । हामी एक ठाउँमा रहनुको कारण केही छन् । १३ औं महाधिवेशनमा हामी फरक फरक ठाउँमा उभियौं । मेरो अहिलेको प्रयत्न भनेको १४ औं महाधिवेशनमा १३ औंमा फरकफरक उभिएका रामचन्द्र पौडेलदेखि कृष्ण प्रसाद सिटौलासम्म, अर्जुननरसिंह केसीदेखि चन्द्र भण्डारी र मसम्म सबै नेताहरु एक ठाउँमा ल्याउने हो ।

पार्टीलाई फेरी पनि २०६२/६३ को आन्दोलनको स्प्रिटमा ल्याउनु छ । अब आउने निर्वाचनमा आम जनताले कांग्रेस भनेको धेरै मतदाताको हिसाब किताब गर्ने पार्टी होइन् । अपिल गर्ने पार्टी हो । एक पटक फेरी नेपाली कांग्रेसलाई जिम्मेवारी दिऔं भन्ने पार्टी बनाऔं । पार्टीको बेला स्थितिलाई फेरी ठिक ठाउँमा लेर आउँ । यो सबै कुरा गर्नका लागि १३ औं महाविधेशनमा फरकफरक धारमा उभिएका साथीहरुलाई एकठाउँमा ल्याउने मेरो प्रयत्न हो ।

सभापतिमा फेरी शेरबहादुर देउवाले आकांक्षा देखाइरहनु भएको छ नि ?

मेरो सभापति देउवालाई विनम्र आग्रह छ । १४ औं महाधिवेशनमा प्रत्याशी नै नबनिदिनूस् । त्यसको कारण छ– उहाँ हाम्रो सम्मानित नेता र प्रधानमन्त्री पनि हो । यस्तो अवस्थामा उहाँले प्रधानमन्त्रीको जिम्मा लिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई असफल बनाएर हामी सफल हुँदैनौं । पर्सी पार्टीको अधिवेशन छ । पार्टीको अधिवेशनमा देउवालाई असफल हुनुभयो । अथवा हार्नुभयो । तर, उहाँ अबको १५/१६ महिना हाम्रो प्रधानमन्त्री रहनुहुन्छ नि । पार्टीको अधिवेशनमा सभापतिमा पराजित भएको व्यक्ति प्रधानमन्त्री स्वभाविक रुपमा कमजोर हुन्छ । म त्यो अवस्था नै नओस् भन्न चाहान्छु ।

किनकी उहाँलाई अझै बलियो बनाउनुपर्छ । उहाँको नेतृत्वको सरकारले गरेको कामको आधारमा मत माग्न जानुपर्नेछ ।

आगामी मंसिरमा हुने निर्वाचनमा उहाँ नेतृत्वको सरकारले गरेका कामका आधारमा मत माग्न जानुपर्नेछ । देउवाको एकपछि अर्को सफलता होस् भन्ने हाम्रो चाहना पनि छ । त्यसकारण उहाँलाई मद्दत गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement