काठमाण्डु– कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई विदेश भ्रमणको तयारी गर्दा आफ्नै सचिवालयको भर नपरी विज्ञ र अनुसन्धानकर्तासँग परामर्श गर्न सुझाव दिएका छन् ।
आइतबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालका विषय प्रभावकारी ढंगले उठाउन पर्याप्त अध्ययन र तयारी गरेर जान प्रधानमन्त्री साहलाई आग्रह गरे ।
प्रधानमन्त्रीको भ्रमणलाई औपचारिकता वा ‘ग्रान्ड शो’ मा सीमित नगरी देशका मुद्दा स्थापित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा उनको जोड थियो ।
थापाले विश्वविद्यालयका अनुसन्धानकर्ता, सम्बन्धित क्षेत्रका विज्ञ तथा देशभित्र र बाहिर रहेका दक्ष जनशक्तिसँग छलफल गरेर भ्रमणको तयारी गर्न बालेनालाई सुझाए ।
विशेषगरी जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिलाई अन्तर्राष्ट्रिय मञ्चमा तथ्य र वैज्ञानिक प्रमाणसहित प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीलाई नेपालले भोगिरहेको जलवायुजन्य प्रकोपका रुपमा स्थापित गर्न र क्षतिपूर्ति भराउने प्रमाणका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष लैजान सकिने थापाले उल्लेख गरे ।
जलवायु परिवर्तनमा नगण्ड योगदान रहेको र नेपालले न्यून मात्रामा हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु परिवर्तनको असरबाट ठूलो क्षति व्यहोर्नुपरेको विषय वैज्ञानिक अध्ययन र प्रमाणका आधारमा उठाउनुपर्ने उनले स्पष्छट गरे ।
‘हामीले वर्षौंदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ,’ थापाले भने, ‘नेपालले हानि र नोक्सानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ ।’
थापाले यसअघिका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका विषय र पहलहरूको समेत अध्ययन गरेर अहिलेको तयारी अघि बढाउन सुझाव दिए ।
विगतमा उठाइएको ‘हिमालदेखि महासागरसम्म’ को विषय तथा कोप–२८ मा अघि सारिएको जलवायु न्यायको पहललाई समेत निरन्तरता दिनुपर्ने उनको माग छ ।
नेपालका मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी बनाउन विदेश भ्रमणअघि पर्याप्त तयारी आवश्यक रहेको थापाले बताए ।
देशभित्र तथा विदेशमा रहेका विज्ञ र दक्ष जनशक्तिको ज्ञान उपयोग गरेर तथ्यमा आधारित प्रस्तुति तयार गर्न सके प्रधानमन्त्रीको भ्रमणबाट ठोस उपलब्धि हासिल गर्न सकिने विश्वास थापाले व्यक्त गरे ।




प्रतिक्रिया