गगन हुन सक्छन् कांग्रेसका सर्वसम्मत सभापति, देखिएनन् चुनौती दिने शीर्ष नेता

गगन हुन सक्छन् कांग्रेसका सर्वसम्मत सभापति, देखिएनन् चुनौती दिने शीर्ष नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरू हुन लागेको १५ औँ महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति पदमा गगन थापा सर्वसम्मत चयन हुने सम्भावना बलियो भएको छ।

उपसभापति र महामन्त्रीसहितका पदमा बलियो प्रतिस्पर्धा भए पनि सभापति पदमा गगनलाई अरू कसैले चुनौती दिने अवस्था नरहेको प्रवक्ता देवराज चालिसेले बताएका छन्।

शुक्रबार पत्रकारहरूसँगको भेटघाटका क्रममा कांग्रेस प्रवक्ता चालिसेले थापालाई पार्टीको नेतृत्वमा अहिलेसम्म कुनै नेताले चुनौती नदिएका बताएका छन्।

‘अहिलेसम्म वर्तमान सभापति गगन थापालाई कसैले चुनौती दिएको अवस्था छैन’, उनले पत्रकारहरूसँग भने ।

अहिले पनि गगन सहमति र एकताको वातावरण बनाउन सक्रिय रहेको चालिसेले बताएका छन्। यस्तो परिस्थितिमा गगन सभापतिमा सर्वसम्मत चयन हुने सम्भावना बलियो रहेको चालिसेले बताए ।

उनले सकेसम्म सहमतिमै नयाँ नेतृत्व टुंगो लगाउने कोसिस कांग्रेसले जारी राखेको पनि बताएका छन्। ‘सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिनेछ। त्यो सम्भव नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुन्छ’, चालिसेले भने।

कांग्रेसको १५औँ महाधिवेशन गगनकै नेतृत्वमा हुँदैछ। उनकै नेतृत्वमा २०८२ पुस अन्तिममा भएको दोस्रो विशेष महाधिवेशनले तत्कालीन सभापति शेरबहादुर देउवालाई पाखा लगाएको थियो । त्यसपछि फागुन २१ को चुनाव लडेको कांग्रेस इतिहासमै नराम्रोसँग पराजित भयो ।

गगनलाई सर्वसम्मत सभापति बनाउने कोसिस भइरहँदा अर्का नेता किशोरसिंह राठौरले चुनौती दिने बताइरहेका छन् । तर उपसभापति, महामन्त्री र सह-महामन्त्री तहबाट गगनलाई कुनै किसिमको चुनौती छैन।

कांग्रेसका पूर्व-सहमहामन्त्री राठोरले १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्। नेता राठौरले उक्त महाधिवेशनमा आफू सभापति पदमा उठ्ने बताएका छन्। ‘म सभापतिमा उठ्छु,’ राठोरले भने, ‘महाधिवेशन प्रतिनिधि बनेर काठमाडौं थप छलफल थाल्छु।’

दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनलाई राठौरले मात्रै चुनौती दिने अवस्था अहिलेसम्म देखिएको छ। राठौरले विशेष केही तयारी नभए पनि आफू सभापतिमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्। राठौरबाहेक अन्य कुनै नेता अहिलेसम्म गगनलाई चुनौती दिने अवस्थामा देखिएका छैनन्।

सभापतिमा गगनलाई चुनौती दिन खोजिरहेका राठौर २०७८ मंसिर २४-२८ मा भएको १४ औं महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा प्यानलबाट सह-महामन्त्री बनेका थिए ।

यस पटक गगन नेतृत्वमा कांग्रेस पन्ध्रौँ महाधिवेशनमा होमिँदा देउवा भने चुनदेवीमा बसेर अलग्गै गुट चलाइरहेका छन् । देउवाले पनि आफ्नो समूहका नाममा पन्ध्रौँ महाधिवेशन आगामी मंसिर २१ देखि गर्दैछन्। अहिले देउवा समूह वडा अधिवेशनमा व्यस्छ । तर देउवा समूहको अधिवेशनमा भाग लिनेलाई कांग्रेस अनुशासन समितिले कारबाहीको चेतावनी दिइसकेको छ। देउवा समूहमा रहेका केही नेताहरू अझै पनि कांग्रेस संस्थापनतिर फर्किने कोसिसमा छन्।

कांग्रेसको पहिलो महाधिवेशन वि.सं. २००६ साल चैत २७ गते भारतको कोलकात्तास्थित भवानीपुरको खालसा हाइस्कुलमा भएको थियो।

त्यसपछि कांग्रेसका महाधिवेशन भारत प्रवास हुँदै नेपालका जनकपुर,वीरगञ्ज र काठमाडौंमा भइसकेका छन्। यस पटक कांग्रेसले काठमाडौंमै महाधिवेशन गर्दैछ। यो महाधिवेशनबाट पनि गगन नै सभापतिमा दोहोरिने निश्चित देखिएको छ।