रोकिएनन् गगन थापा : कांग्रेसभित्र देउवाविरुद्ध गाउँगाउँसम्मै मोर्चाबन्दी


काठमाण्डु – ‘सभापतिको परम्परागत तरिका सहेर बस्दैनौं । संघर्ष गर्छाैं, पार्टी बदलेरै छाड्छौं । कांग्रेस बदलिए मात्र देशमा परिवर्तन आउन सक्छ,’ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ईलामको फिक्कलमा शुक्रबार आयोजित विचार गोष्ठीमा भने ।

कांग्रेसभित्र महामन्त्री थापाले सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्दै आएका छन् । काठमाडौंमा जारी अन्तर्संघर्ष केन्द्रीय समिति बैठकपछि रोकिने पूर्वानुमान थियो । तर गगनको मोर्चाबन्दी रोकिनुको सट्टा अब गाउँगाउँसम्म पुग्न थालेको छ । फिक्कलको कार्यक्रममा आम कार्यकर्तामाझ महामन्त्री थापाले खुलेरै सभापतिको आलोचना गरे ।

कार्यकर्तामाझ मात्रै होइन, उनी सभापति देउवाकै सामुन्ने पनि उनको आलोचना गर्छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा थापाले भनेका थिए, ‘मैले संसदीय दलको नेता परिवर्तन गर्न खोजेको हुँ, सकिनँ तर म अब पनि लागिरहन्छु । संसदीय दल नेता फेर्न विधानअनुसार बकाइदा मिल्छ तर सांसदको भोट पाउन गाह्रो छ भन्ने कुरा मलाई थाहा छ तर म प्रयास भने गरिरहन्छु । गाह्रो काम भनेर छाड्दिनँ ।’

दशकौंसम्म एकै व्यक्ति पार्टी नेतृत्वमा रहिरहने प्रवृत्तिप्रति महामन्त्री थापाको असन्तुष्टि छ । थापाले दलहरूमा ३०–३५ वर्षदेखि ४–५ जना नेताले ‘म्युजिकल चियर’ खेलेजस्तो नेतृत्व गरिरहेको बताएका थिए ।

केन्द्रीय समिति बैठकमा उनले अगाडि थपे, ‘४–५ जना नेताले नेतृत्वमा आलोपालो गरिराख्नुभएको छ । जनताले नयाँ खोजेका छन् त्यसका लागि मैले कोसिस गरेको हुँ । अरु कोही नआएकोले म अघि बढेको हुँ ।’

सभापति देउवाले अब म प्रधानमन्त्री बन्दिनँ भन्नुपर्ने उनको भनाइ छ । ‘म छैटौंपटक प्रधानमन्त्री बन्दिनँ, ल को आउने हो आओ भनेर सभापतिले नै भन्नुहुन्छ भन्ने विश्वास छ,’ थापाले भने । तर महामन्त्री थापाको चाहनाअनुसार देउवाले प्रधानमन्त्री नबन्ने कुरा भनिदिएनन् ।

‘सभापतिलाई यसले दल नेता परिवर्तन गर्न खोजिरहेको छ भन्ने थाहा छ तर उहाँका वरिपरि बस्नेलाई चिन्तित बनाएको छ,’ उनले भने, ‘दल नेता परिवर्तन गर्न म लागिरहन्छु । अब किन लागिस् भनेर प्रश्न नसोध्नुहोला, जवाफ पाउनुभयो ।’ बैठकमै महामन्त्री थापाले सभापति देउवालाई १३ बुँदे लिखित धारणा बुझाएका थिए ।

बालकृष्ण प्रकरणपछि बल्झियो मतभेद

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता बालकृष्ण खाँण पक्राउ परेपछि महामन्त्री थापा लगायत नेताहरूले निलम्बन गर्नुपर्ने अडान राखे । औपचारिक, अनौपचारिक बैठकमा महामन्त्री थापाले खाँणमाथि पार्टीभित्र कारवाही हुनुपर्ने बताउँदै आएका थिए । तर सभापति देउवा लगायत संस्थापन पक्ष निलम्बन गर्न नहुने अडानमा रह्यो । पार्टीका अन्य बैठक जस्तै केन्द्रीय समिति बैठकले पनि खाँणलाई निलम्बन गरेन । पार्टी केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खाँण संगठित अपराध अभियोगमा केन्द्रीय कारागार सुन्धारामा थुनामा छन् ।

महामन्त्री थापा अहिले पनि खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमै छन् । उनले ललितानिवास जग्गा प्रकरणमा जारी अनुसन्धानमा पनि प्रश्न गरेका छन् ।

नेपाली कांग्रेस इलाम नगर कार्यसमितिको दोस्रो नगर सम्मेलनको शनिवार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरुको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारबारे आपत्ति जनाए ।

‘अनुसन्धानमा अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन,’ महामन्त्री थापाले भने, ‘नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नुपर्छ, कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पु¥याउन आँट गर्नुपर्छ ।’

अब पार्टीको मात्र नभएर गठबन्धन वा जुनसुकै राष्ट्रिय सवालमा भएका निर्णय समेत पारदर्शी बनाउनुपर्ने उनले बताए । भ्रष्टाचारमा जोडिएका जोकोहीलाई छाड्न र उन्मुक्ति दिन नहुने उनले बताए ।

कांग्रेस यसरी नै अगाडि बढेमा २०८४ सालको निर्वाचनमा पराजयको शिकार बन्नुपर्ने चिन्ता व्यक्त गरे । उनले भने, ‘स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस सरकारमा छ । आज सबैभन्दा ठूलो राजनीतिक दल हामी हौं तर जनताका समस्या सम्बोधन हुन सकेका छैनन् । यही तरिकाले ८४ को आमचुनावमा ठूलो पराजयको शिकार बन्न सक्ने अवस्थालाई आज नसोचे कहिले सोच्ने ?’

दुवै महामन्त्री एकजुट

पार्टीको एकै महाधिवेशनबाट चुनिएका सभापति र महामन्त्रीबीच तालमेल मिलिरहेको देखिँदैन । सभापति एकातिर र महामन्त्री अर्काेतिर देखिन्छन् ।

महाधिवेशनमा महामन्त्री थापा लोकप्रिय मतका साथ विजयी भएका थिए । थापाले ३०२३ मत पाउँदा अर्का महामन्त्री विश्वप्रकाश शर्माले १ हजार ९८४ मत पाएका थिए । निकटतम प्रतिद्वन्द्वी प्रदीप पौडेलले १ हजार ३९३ मत पाएका थिए । प्रतिस्पर्धाको चौथो नम्बरमा पुगेका प्रकाशशरण महतले १ हजार ५५६ मत पाएका थिए ।

पार्टीको महाधिवेशनमा नराम्ररी पछारिएका महत नै यतिबेला सभापति देउवाका प्रिय बनेका छन् । उनै मतलाई देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा अर्थमन्त्री बनाएका छन् ।

महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वय थापा र शर्मामध्ये १ जनालाई देउवाले आफ्नो पक्षमा राखेर पार्टी चलाउने धेरैको अनुमान थियो तर देउवाले त्यसो गर्न सकेका छैनन् । अहिले दुवै महामन्त्री देउवाको फरक कित्तामा उत्रिएका छन्, अर्थात् पार्टीभित्रै प्रतिपक्षी जस्ता देखिन्छन् । पार्टीको कार्यकारी पदमा पुगेका २–२ जना महामन्त्रीले प्रतिपक्षीको भूमिका निभाउनुपर्ने अवस्था कांग्रेस पार्टीमा रहेको छ ।

सत्तारुढ गठबन्धनका बैठकदेखि मन्त्री नियुक्तिसम्मका महत्त्वपूर्ण विषयमा महामन्त्रीहरूले निर्णायक भूमिका निभाउन पाउँदैनन् । सरकारको कार्यशैलीप्रति पनि महामन्त्री थापा असन्तुष्ट देखिँदैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement