काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा पनि सरकारको गतिसँग सन्तुष्ट नरहेको खुलासा गरेका छन्।
शुक्रबार विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै महामन्त्री थापाले भने, ‘हाम्रो पार्टी सभापतिले पनि भनिसक्नुभयो सरकार जुन गतिमा चल्नुपर्ने हो, जस्तो खालको परिणाम दिनुपर्ने हो त्यो दिन सकिरहेको छैन ।’ उनले यसमा गम्भीर समीक्षा गरिरहेका पनि बताए ।
यद्यपि सरकार सफल बनाउन कांग्रेस लाग्ने बताउँदै उनले भने, ‘सरकारले प्रभावकारी काम गर्न नसकेको भन्ने लागेका कारण सरकारका कामलाई थप प्रभावकारी बनाउने विषयमा केही दिनपछि बस्ने कांग्रेसको केन्द्रीय समिति बैठकबाटै निर्णय लिने तयारी गरेका छौँ ।’
यस्तै उनले बैठकमा पार्टीबाट सरकार गएका मन्त्रीहरूको कामबारे पनि गम्भीर छलफल गर्ने बताए।
थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले त्यस विषयमा कुनै टिप्पणी नगर्ने बताए ।
प्रतिक्रिया