गैह्रीगाउँ सामूहिक हत्या प्रकरण: प्रहरीले पाएन कुनै क्लु


काठमाण्डु- तीनकुने स्थित गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले कुनै क्लु भेटाएको छैन । प्रहरीले सामूहिक हत्या प्रकरणमा १५ जनासँग सोधपुछ गरेपनि कुनै क्लु भेटाउन भने सकेको छैन ।

गत शुक्रबार राती अन्दाजी ११ः५५ बजे तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिल भित्र ४ जनाको सामूहिक हत्या भएको थियो । घटनामा दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।

हत्यामा धारिलो हतियार प्रहार भएको पाइएको छ । शुक्रबार राती घटना भई सोही रात नै दीपेन्द्र राई पक्राउ परे पनि घटनामा उनको संलग्नता भएको वा नभएको बारे कुनै जानकारी छैन ।

प्रहरीसँगको प्रारम्भिक सोधपुछमा दीपेन्द्रले घटनाबारे आफूलाई केही थाहा नभएको बताएका छन् । घटना लगत्तै प्रहरी कार्यालयमा पुगेका दीपेन्द्र अत्यधिक नसामा रहेका थिए । हत्याका विषयमा आफूलाई केही थाहा नभएको र रगत लतपतिएको अवस्थामा देखेपछि आफू प्रहरी कार्यालयमा आएको दीपेन्द्रले बयान दिएका छन् । हत्या अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

टोलीमा काठमाण्डु परिसरका डीएसपी हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसी, बानेश्वर बृत्तका प्रहरी इन्सपेक्टर विरेन्द्र केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement