धरानमा ६८ किलो गाँजासहित २ जना पक्राउ

धरानमा ६८ किलो गाँजासहित २ जना पक्राउ


धनकुटा – अवैध लागूऔषध गाँजा करीब ६८ किलोसहित सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट २ जना पक्राउ परेका छन् ।

स्थानीय ३० वर्षीय सुरज थापा र धरान उपमहानगरपालिका–३ बस्ने ४० वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले साँगुरिगढी गाउँपालिका–७ धनकुटा हुक्काबासमा बाग्मती प्रदेश ०१–०२५ च ४६७७ नम्बरको कारलाई जाँच गर्न रोक्न खोज्दा कार नरोकी कारबाट केही सामान फालेर भागेकोमा सामान तलासी गर्दा गाँजा फेला परेको थियो ।

कारको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरिगढी गाउँपालिका–६ स्थित होटल माउन्ट एभरेस्टमा फेला पारी कार चालक सुरज र कारमा सवार नारायणलाई पक्राउ गरेको छ ।

गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।