लकडाउनले सिडिओलाई टाकुरो राजा बनायो, गृह र प्रधानमन्त्री कार्यालय महाराजा भए: सांसद महत


काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गजेन्द्रबहादुर महतले लकडाउनका कारण जनता र सांसदले सास्ती खेपेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको शून्य समयमा उनले गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय महाराजा भएर बसेको आरोप लगाएका छन् ।

‘लकडाउनले ७७ वटै जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई टाकुरे राजा बनायो । सबै राजा भएर बसेका छन् । गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय महाराजा भएर बसेका छन्’, उनले भने ।

उनले लकडाउनमा जनताका मर्का नसुनेको भन्दै जनतालाई पीरमर्का दिन लकडाउन थपेको हो ? भन्दै प्रश्न गरेका छन् । उनले सभामुखलाई फोन गर्दा नउठेको भन्दै जिल्ला जान पनि गृहमन्त्रीको आदेश चाहिने गुनासो पोखे । उनले प्रहरी अधिकारीले सांसदको फुली नचिनेको भन्दै सीडीओ र गृहमन्त्रीको आदेश चाहिने बताएका हुन् ।

‘जनताको पिरमर्का सुनेको छैन । यति पिरमर्का परेको छ, जनतालाई पिरमर्का दिन लकडाउन बनाइएको हो ? माननीय जिल्लाका जना सीडीओको चाकरी गर्नुपरिरहेको छ । गृहमन्त्रालय धाउनपर्छ’, उनले भने, ‘सभामुखकहाँ फोन गर्दा उठ्दैन । एउटा माननीय जिल्लामा जान पाउँदैन । एउटा सामान्य फुली भएको मान्छेले सांसदको लोगो चिन्दैन । माथि गृहमन्त्रीको आदेश चाहिन्छ । लकडाउन भनको यो हो, सभामुख महोदय ! सीडीओको, गृहमन्त्रीको आदेश चाहिन्छ भन्छ सभामुख महोदय ! लकडाउन भन्या यो हो ? जनतालाई दुःख दिने भन्या हो ? लकडाउनले माननीयलाई चिन्दैन ? राजा–महाराजा, टाकुरे राजाको सेवा, चाकरी गर्नुपर्छ ? यिनीहरूको चाप्लुसी गर्नुपर्छ ? यही हो लकडाउन भन्या !’

प्रतिक्रिया दिनुहोस
Advertisement