काठमाण्डू– कमाण्डू महानगरपालिकाले सहकारी ठगी कसुरमा फरार रहेका जितेन्द्रबाबु (जिबी) राई सञ्चालक रहेको गोरखा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी फोर–के टेलिभिजनलाई तिर्न बाँकी भाडा बापतको रकम १५ दिनभित्र तिरिसक्न ताकेता गरेको छ ।
घरबेटी मृगेन्द्रप्रसाद मिश्रले गोरखा मिडियाले भाडा नतिरेको भन्दै महानगरको न्यायिक समितिमा उजुरी दिएका थिए । हाल प्रसारण बन्द रहेको ग्यालेक्सी टेलिभिजनको कार्यालय काठमाण्डू महानगरपालिका–३ स्थित बालुवाटारमा छ । टेलिभिजनले तीन वर्षदेखि भाडा नतिरेको मिश्रले बताएका छन् ।
महानगरले १४ कात्तिक २०८१ मै ग्यालेक्सी टिभीलाई भाडा तिर्न भनेको थियो । महानगरले उतिबेलै स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट भाडा बापतको रकम भराई घरजग्गा खाली गर्न निर्देशन दिएको थियो ।
न्यायिक समितिको निर्देशन पालना नगरेको भन्दै मिश्र एच्च अदालत पाटन गए ।
२८ साउन २०८२ मा उच्चले न्यायिक समितिको निर्णय सही ठहर गर्दै दुई महिनाभित्र भाडा तिर्न र घर खाली गर्न परमादेश दिएको थियो । रकम नतिरेकाले ग्यालेक्सी फोर–के टेलिभिजनको सम्पत्ति लिलामी गरी असुल उपर गर्न अनुमति माग्दै मिश्रले फेरि अर्को निवेदन दिएका छन् ।
‘ग्यालेक्सी फोरकेमा भएको सामानहरू लिलाम गरिपाऊँ भनी वादी मृगेन्द्र मिश्रको २०८३ वैशाख २१ मा निवेदन पेस भएकोले’, महानगरद्वारा जारी सूचानामा भनिएको छ, ‘अतः यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र घरधनी वादीलाई बुझाउनुपर्ने बहाल रहम बुझाइ आफ्नो सरसमान लैजान यो सूचना प्रकाशित गरिएको हुँदा म्यादभित्र आफ्नो ग्यालेक्सी फोरके टेलिभिजन सम्बद्ध सरसमान लगी घर खाली गर्न अन्तिम सूचना प्रकाशित गरिएको छ ।’
उक्त समयभित्र सकानून बमोजिम सरसमान नलगेमा काठमाण्डू महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन–२०७५ को दफा (७०) बमोजिम लिलाम गरिने सूचनामा छ ।




प्रतिक्रिया