फिफा महिला विश्वकपः इङ्ग्ल्यान्ड र डेनमार्क तथा अमेरिका र नेदरल्यान्ड्स नक आउट चरणमा


काठमाण्डु- फिफा महिला विश्वकप फुटबलमा समूह ‘डी’ बाट इङ्ग्ल्यान्ड र डेनमार्क तथा समूह ‘ई’ बाट अमेरिका र नेदरल्यान्ड्स नक आउट चरणमा प्रवेश गरेका छन् ।

आज अस्ट्रेलियाको हिन्दमार्श स्टेडियममा भएको खेलमा चीनलाई ६-१ को फराकिलो अन्तरले पराजित गर्दै इङ्ग्ल्यान्ड ९ अङ्कका साथ समूह विजेता र डेनमार्क ६ अङ्क जोड्दै उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको हो ।

इङ्ग्ल्यान्डका लागि लरेन जेम्सले २ तथा एलिसिया रुसो, लरेन हेम्प, चोई केली र रचेल डेलीले १-१ गोल गरिन् भने चीनका लागि वाङ शुवाङले सान्त्वना गोल फर्काइन् ।

पराजित चीन भने ३ अङ्कसहित तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । आज नै भएको सोही समूहको अर्को खेलमा हैटीलाई २-० गोलले हराउँदै डेनमार्क पनि अन्तिम १६ मा पुगेको छ । अस्ट्रेलियाको पर्थ रेक्ट्याङ्गुलर स्टेडियममा भएको खेलमा डेनमार्कलाई जिताउन पर्निले हार्डर र सानी निलसेनले १/१ गोल गरिन् । हैटी भने अंकविहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यसअघि भएको खेलमा समूह ‘ई’ बाट अमेरिका र नेदरल्यान्ड्स नक आउट चरणमा प्रवेश गरेका छन् । नेदरल्याण्ड समूह विजेता र अमेरिका उपविजेताको रूपमा अन्तिम १६ मा पुगेका हुन् ।

आज न्युजिल्यान्डको फोर्थिस बार स्टेडियम भियतनामलाई ७-० गोलले हराउँदै नेदरल्यान्ड्स ७ अङ्कका साथ शीर्ष स्थानमा रहँदा अंकविहिन भियतनाम भने प्रतियोगिताबाटै बाहिरिएको छ ।

नेदरल्यान्ड्सको जितमा इस्मी ब्रुट्स र जिल रुर्डले २-२ गोल गरिन् भने लिके मार्टिन्स, कट्जा स्नोइस र ड्यानिल भान डि डन्कले १-१ गोल गरिन् । यस्तै, सोही समूहको अर्को खेलमा पोर्चुगल र अमेरिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको खेलमा जित्नै पर्ने दबाबमा रहेको पोर्चुगल अमेरिकासँग बराबरीमा रोकिएसँगै समूह प्रतियोगिताबाट बाहिरिएको छ ।

पोर्चुगल फिफा महिला विश्वकपको इतिहासमै पहिलो पटक नकआउट चरणमा पुग्न असफल भएको हो । पोर्चुगलले यसअघिको सबै ८ संस्करणमा नकआउट चरणको यात्रा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement