भारतसँगको खेलअघि न्युजिल्यान्डका कप्तानले भने- हामीसँग सबैभन्दा राम्रो मौका छ


काठमाण्डु- आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलअघि न्युजिल्यान्डका कप्तान केन विलियमसनले मुम्बईमा जे पनि हुन सक्ने बताएका छन् ।

बुधवार मुम्बईको वानखेडे स्टेडियममा न्युजिल्यान्ड र भारतबीच भिडन्त हुने भएको हो । भारतीय टिम यो विश्वकपमा अविजित रहँदै सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्ड ५ खेल जितेर अन्तिम ४ मा पुगेको हो ।

खेलअघि आज मङ्गलवार सञ्चारमाध्यमसँग कुरा गर्दै विलियमसनले भने, ‘यदि हामीले आफ्नो क्षमताले खेल्यौँ भने जे पनि हुन सक्छ । हामीलाई थाहा छ, यदि दिन हाम्रो हो र हामी उत्कृष्ट प्रदर्शन गरिरहेका छौँ भने हामीसँग सबैभन्दा राम्रो मौका छ ।’ मुम्बईमा हुने सेमिफाइनल खेलको सबै टिकट बिक्री भइसकेको छ र धेरैजसो दर्शकले भारतीय टिमको समर्थनमा छन् ।

यो अवस्थालाई लिएर विलियमसनले भने, ‘हामी सेमिफाइनलमा पूरै स्टेडियमा निलो (भारतीय टिमको जर्सीको रङ) हुने आशा गर्छौँ । हाम्रो टिमको खेलाडीलाई हरेक परिस्थितिमा खेल्ने अनुभव छ । यस्तो वातावरणमा खेल्ने मौका पाउनु विशेष कुरा हो ।’

आईसीसी प्रतियोगितामा हालसम्म दुई टोलीबीच १० खेल भएका छन् जसमध्ये ८ खेलमा न्युजिल्यान्ड विजयी भएको छ । तर, लिग चरणमा भारतले धर्मशालामा न्यूजिल्याण्डलाई हराएको थियो, जुन २००३ विश्वकपपछि पहिलो पटक भएको थियो।

भारतले इंग्ल्याण्डमा सन् २०१९ को विश्वकपको सेमिफाइनलमा भएको हारको बदला लिने मौका पाउनेछ । उक्त खेलमा अधिकांश समय भारतले अग्रता लिएको थियो तर करिब एक घण्टाको खराब प्रदर्शनका कारण टोलीले हार बेहोरेको थियो ।

रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीले मुम्बईमा आफ्नो उत्कृष्ट कीर्तिमानलाई थप सुधार गर्ने प्रयास गर्नेछ । यस मैदानमा खेलेका २१ खेलमध्ये भारतीय टोलीले १२ खेल जितेको छ भने ९ खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement