महिला टी-२० श्रृंखला : हङकङ च्याम्पियन


काठमाण्डु- ४ देशसम्मिलित महिला टी-२० श्रृंखलाको उपाधि घरेलु टोली हङकङले जितेको छ। आइतबार भएको फाइनलमा हङकङले तान्जानियालाई ५ विकेटले पराजित गरेको हो।

हङकङ क्रिकेट मैदानमा टस जितेर हङकङले पहिले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको तान्जानियाले १८ ओभर ४ बलमा अल आउट हुँदै मात्र ८४ रन बनायो।

तान्जानियाका लागि मोनिका पास्कालले सर्वाधिक ४२ रन बनाउँदा ओमारीले १३ रन जोडिन्। पेरिस कमुन्या १० रनमा आउट भइन्। अन्य खेलाडीले दोहोरो अंकमा रन हान्न सकेनन्।

हङकङका लागि मरिको हिलले सर्वाधिक ५ विकेट लिइन्। इक्रा शहरले ३ र एलिशन स्यूले १ विकेट लिइन्। ८५ रनको लक्ष्य पछ्याएको हङकङले १९ ओभर १ बलमा ५ विकेटमात्र गुमाएर भेट्टायो।

तान्जानियाका लागि अइसा मोहम्मदले २ विकेट लिइन् भने निमा पिउस र सोफिया जेरुमले १/१ विकेट लिए। हङकङ अपराजित रहँदै च्याम्पियन बनेको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement