ओप्स खेलकुद महोत्सव मंगलबारदेखि


काठमाडौं– अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा बृहत खेलकुद महोत्सव मंगलबारदेखि सुरु हुने भएको छ।

महोत्सव अन्तर्गत सृजना ज्ञानसागरको संयोजकत्वमा फुटबल हुनेछ भने कौशल स्कुलले एथलेटिक्स, लालिगुरासले बास्केटबल, एन्जल्स्हार्टले ब्याडमिन्टन र सेब स्कुलले भलिबल खेल सञ्चालन गरिने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

महोत्सवअन्तर्गतको छात्र फुटबल मंगलबारदेखि सुरु हुनेछ । सिर्जना ज्ञानसागर स्कुलको संयोजनमा हुने प्रतियोगितामा ओप्सअन्तर्गतका १६ विद्यालयको सहभागिता रहेको प्रतियोगिता संयोजक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिए । एथलेटिक्स तथा फुटबल प्रतियोगिता तारकेश्वर नगरपालिका–५ गोलढुंगामा अवस्थित मैदानमा हुने छ। एथलेटिक्सको प्रतिस्पर्धा माघ ११ गते हुनेछ।

पुरुष फुटबलमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह एमा मनास्लु, मस्र्याङ्दी, पुष्पकुञ्ज र न्युटन, समूह बीमा एन्जेल हर्ट, विभूति, प्रगति र ज्ञानमन्दिर रहेका छन् ।

यसैगरी समूह सीमा हिमरश्मी, सीएचए, सेब र मञ्जरी तथा समूह डीमा कौशल, सृजना ज्ञानसागर, फेरील्यान्ड र लालीगुराँस रहेका छन् ।

प्रतियोगिताका खेलहरु लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीले आकर्षक नगद पुरस्कार पाउने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले पनि आकर्षक पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement