खेल आयोजनाका लागि चेम्बर अफ कमर्ससँग सहकार्य

खेल आयोजनाका लागि चेम्बर अफ कमर्ससँग सहकार्य


काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र सामग्रीको प्रदर्शनी आयोजनाका लागि विभिन्न संस्थासँग सहकार्यको सम्झौता गरेको छ ।

चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माइस इन्टरनेसनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्री तथा नेपाल स्पोर्टस् एशोसिएशनसँग सहकार्यका लागि सम्झौता गरेको छ ।

नेपाल स्पोर्टस कन्क्लेभ २०२५, नेपाल दोस्रो स्पोर्टस एण्ड फिटनेस एक्स्पो २०२५ एवं पाँचौं स्पोर्टस् च्याम्पियनसिप एण्ड एक्सोका लागि सहकार्यको सम्झौता गरिएको चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतामा नेपाल चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिका सभापति रुपक राजवंशी, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रीका अध्यक्ष सुरज डंगोल, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य निरन्जन राजवंशी र माइस इन्टरनेसनलका निर्देशक दिपक थापाले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राको सहभागिता थियो ।

चेम्बर अफ कमर्स र खेलकुदका विभिन्न निकायबीच भएको सम्झौताले नेपालमा खेल क्षेत्रको विकास, अवसरहरूको सिर्जना एवं नीतिगत तवरमा सहकार्य हुने विश्वास गरिएको छ । चेम्बरसँग गरिएको सम्झौतापछि सरोकारवाला सबै निकायलाई एकीकृत गरी खेलकुद क्षेत्रको विकास गर्न रणनीतिक साझेदारीमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।

दोस्रो नेपाल स्पोर्टस कन्क्लेभमा समूहगत छलफल, कार्यपत्र प्रस्तुति लगायतका कार्यका लागि चेम्बर अफ कमर्सले सहकार्य गर्नेछ ।

दोस्रो नेपाल फिटनेस एक्स्पोमा खेलाडी एवं फिटनेश उद्योगी, नयाँ खोज एवं फिटनेश क्षेत्रबारे बृहत् जानकारी दिने उद्देश्य राखिएको छ ।

चेम्बरसँगको सहकार्यमा पाँचौं स्पोर्टस् च्याम्पियनशिपको समेत आयोजनाको तयारी भएको छ । चेम्बर अफ कमर्स र विभिन्न खेलकुदका संस्थाबीच आगामी ३ वर्षका लागि सहकार्यको सम्झौता भएको चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सहकार्यले नेपालको खेल क्षेत्र र अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।