सडनडेथमा रेडहर्सलाई हराउँदै पुलिस सेमिफाइनलमा

सडनडेथमा रेडहर्सलाई हराउँदै पुलिस सेमिफाइनलमा

टाइब्रेकरमा ४–४ गोल भएपछि सडनडेथमा पुलिसको ४–३ को जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पथरी – गोलरक्षक अमित टमाटाले सडनडेथमा विशाल दर्जीको प्रहार पन्च गर्दै बाहिर पठाएपछि नेपाल पुलिस क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

पुलिसले मंगलबार रेडहर्स फुटबल क्लब इलामलाई सडनडेथमा ४–३ ले हरायो ।

पथरी रंगशालामा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा दुवै टोलीले ४–४ गोल गरेपछि सडनडेथबाट विजेताको टुंगो लगाइएको हो ।

टाइब्रेकरमा पुलिसका राम वाजी, सुजन मगर, दशरथ गिरी र अमित टमाटाले गोल गरे । कृष्ण गुरुङको प्रहार भने रेडहर्सका गोलरक्षक विवेक मगरले बचाए । रेडहर्सका श्याम मुर्मु, सुजन विक, पुजन थापा र विवेक सुनामले गोल गरे । रेडहर्सका गोलरक्षक विवेक मगरले गरेको प्रहार भने पुलिसका गोलरक्षक टमाटाले रोके ।

सडनडेथमा पुलिसका शिशिर चौधरी, सुवाश थारु, जोन विष्ट र विकास विकले गोल गरे । रेडहर्सका हेमन लिम्बू, जमिन लक्सम र विनोद धमलाले गोल गरे । विशाल दर्जीको प्रहार टमाटाले रोकेपछि पुलिस विजयी भयो ।

निर्णायक बचाउ गरेका टमाटा खेलको म्यान अफ दि म्याच घोषित भए ।

पुलिसले अब फाइनल प्रवेशका लागि न्युरो टीम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । एनआरटीले यसअघि सलहेस फुटबल क्लबलाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो  ।

प्रतियोगिताको पहिलो सेमिफाइनल बुधबार हुनेछ । त्यसमा झापा–११ र भारतको युकेएफसीबिच प्रतिस्पर्धा हुनेछ । ८ टोली सहभागी प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ ।