गण्डकीमा सत्ताको दुरुपयोग, मन्त्री श्रेष्ठका बाबुआमाको नाममा १ करोड बजेट


पोखरा – सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको बाबुआमाको नाममा खोलेको ट्रष्टमा प्रदेश सरकारको एक करोड विनियोजन गरेका छन् ।

यसअघि वार्षिक विकास पुस्तिकामा समेट्न पठाएको कार्यक्रम अर्थमन्त्रालयले काटेपछि सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरेका थिए । पछि थपिएको २८ करोड बजेटमध्ये श्रेष्ठका स्व. बाबू पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फरक फरक शीर्षकमा ५०/५० लाख विनियोजन गरिएको हो । पुननारायण/धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्टमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले ५० लाख विनियोजन गरेको छ भने सोही ट्रष्टको भवन निर्माण गर्न भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत अर्को ५० लाख विनियोजन गरिएको छ ।

पुननारायण र धनकुमारी सामान्य व्यक्तिहरू थिए । स्याङजा भीरकोट नगरपालिका-१ मा उक्त भवन निर्माण गर्न लागिएको बजेट कितावमा उल्लेख छ । मन्त्री श्रेष्ठले सत्ताको दुरुपयोग गर्दै आफ्नै बाबुआमाको नाममा खुलेको ट्रष्टमा बजेट विनियोजन गरेका हुन् ।

यसअघि १ असारमा बजेट वक्तव्यपछि प्रदेशसभा बैठक २० गतेसम्म रोकियो । मन्त्रालयले पठाएका कार्यक्रमहरू अर्थमन्त्रालयले काटेको र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा समावेश नगरेको भन्दै सत्तारुढ दलले नै सदन रोकेको थियो । लामो छलफलपछि करिब २८ करोड रुपैयाँको कार्यक्रम राखेर अनुसूची थपिएको छ ।

सेतो कितावमा थपिएका अधिकांश बजेटहरू वितरणमुखी र कार्यकर्तालाई खुसी पार्ने खालका छन् । २८ करोडमध्ये पोखरा १६ नम्बर वडामा मात्रै ६ करोड भन्दा बढी छुट्याइएको छ । यो वडा भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काको वडासमेत हो ।

समग्रमा सबै मन्त्रालयबाट १६ नम्बर वडामा मात्रै २५ करोड हाराहारी बजेट विनियोजन भएको छ । यसअघि पनि धेरै बजेट एउटै वडामा परेको भन्दै प्रतिपक्षी र सत्तारुढ सांसदहरूले नै विरोध जनाएका थिए । विरोधपछि पनि सोही वडामा बजेट धेरै थुपारिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement