गण्डकीमा मुख्यमन्त्री गुरुङ ‘सुरक्षीत’


काठमाण्डु – गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।

मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको नेतृत्वमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेख बहादुर थापाले आजै राजीनामा दिने भएका हुन् ।

बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएपछि उनीहरुले आज राजीनामा दिने तयारी गरेको माओवादी सांसद दीपक कोइरालाले जानकारी दिए । माओवादीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएपनि सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने बताएको छ ।

मुख्यमन्त्री गुरुङलाई भने यसले खासै असर नपर्ने देखिएको छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने पनि सरकार ढलिहाल्ने अवस्था तत्काल देखिँदैन । गण्डकी प्रदेशमा ६० जना प्रदेश सभा सदस्य रहेका छन् । नयाँ सरकार बनाउनका लागि ३१ साँसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश सभामा हाल एमालेका २७ सांसद छन् । मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे)को पनि समर्थन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई छ । योसँगै एमालेमा २८ सांसद छन् । एमालेलाई सरकार बचाउनका लागि थप ३ सिट मात्रै आवश्यकता छ ।

माओवादीमा सभामुखसहित १३ सांसद छन् भने नेपाली काँग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् । प्रदेश सभामा ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले एमालेलाई साथ दिएको अवस्थामा मुख्यमन्त्री गुरुङको नेतृत्वमा एकल सरकार कायम रहने अवस्था छ ।

त्यसैले यदि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्यो भने पनि सरकार नढल्नेमा मुख्यमन्त्री गुरुङ आश्वस्त छन् । यद्यपि, उनले आन्तरिक परामर्श भने सुरु गरिसकेका छन् ।

सर्वोच्च अदालतले नेकपा नाम विवादलाई किनारा लगाउँदै नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि माओवादी सरकारबाट बाहिरिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement