पोखरा – नेकपा (माओवादी केन्द्र)का सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रेशम जुग्जालीले गण्डकीको वार्षिक विकास कार्यक्रमको किताब च्यातिदिएका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका लागि रोष्ट्रममा पुगेका उनले रोष्ट्रमबाटै पुस्तक च्यातिदिएका हुन् ।
बजेटमार्फत आफ्नो जिल्लामा अन्याय भएको उनको भनाइ छ । ‘म्याग्दीको भूगोल थाहा छैन भने मेरै खर्चमा घुमाउँछु । अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु,’ उनले भने ।
२ वर्षसम्म म्याग्दीलाई अन्याय भएको भन्दै उनले बजेट पुस्तकको काम नरहेको र च्यात्ने धम्की दिए ।
जुग्जालीले बजेटमा सत्ताको समेत उकुसमुकुस रहेको भन्दै सबैको प्रतिनिधित्व गरेर पुस्तक च्यातेको बताए । ‘यो बजेटमा सत्ताको पनि उकुसमुकुस छ । सबैको प्रतिनिधित्व गरेर अर्थ मन्त्रालयको बजेट मैले बहिष्कार गर्न चाहन्छु । पुस्तक च्यात्न चाहन्छु,’ उनले भने । गण्डकी प्रदेशले ल्याएको बजेटमा सत्तापक्षकै सांसदहरू पनि रुष्ट छन् ।
प्रतिक्रिया