गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना सङ्क्रमण,चार जनाको मृत्यु


पाेखरा –  गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ७११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

सङ्क्रमणबाट थप चार जनाको मृत्यु

निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज थप चार जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) कावासोतीका ७७ वर्षीय पुरुषको आज बिहान २ः३० बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा र सोही जिल्लाको गैंडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार निधन भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै कोरोना सङ्क्रमणबाट पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय महिलाको आइतबार राति ११ः०० बजे चरक मेमोरियल अस्पताल पोखरामा र पोखरा–५ का ५५ वर्षीय पुरुषको आइतबार राति ९ः१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement