पोखरा – गण्डकी प्रदेश सरकारबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र उर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटालाई नहटाउने सहमति भएको छ । आफूहरू सरकारमा सहभागी हुन मनाङे र देवकोटालाई हटाउनु पर्ने, मन्त्रालयको संख्या बढाउन नहुने अडानमा रहेको नेकपा एमाले आफ्ना दुवै मागमा लचिलो भएपछि सरकार विस्तार हुने तयारी भएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री मनाङे र देवकोटालाई नहटाउने अडान नछाडेपछि एमाले मन्त्रालय फुटाउन लचिलो बनेको बताइन्छ । मुख्यमन्त्री पाण्डेले अहिलेका मन्त्री नहटाउने तर मन्त्रालयको संख्या बढाउने अडान कायमै राख्दै एकपछि अर्को नियुक्ति पनि गर्दै गएपछि एमाले लचिलो बनेको हो ।
गण्डकीमा एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालय संख्या १० बाट घटाएर ७ मा झारेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशमा १२ जनासम्म मन्त्री हुन सक्छन् । पृथ्वीसुब्बा गुरुङ गण्डकीको मुख्यमन्त्री हुँदा १० मन्त्रालयसम्म बनाउन सकिने अध्ययनबाट सिफारिस भएको थियो भने कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएके बेला मन्त्रालय बढाएर १२ पुर्याइएको थियो ।
एमाले नेता अधिकारीले आफैंले मन्त्रालयको संख्या घटाएकाले बाहिर बढाउन नहुने बताउने र भित्रभित्रै ‘ठिकै छ नि त’ भन्ने गरिरहेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दियो । ‘हामी कुन व्यक्ति मन्त्री छ भन्नेतिर गएका छैनौं । तर, केन्द्रीय सत्ता समीकरणको मर्म झल्किनुपर्छ भन्ने हो,’ एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले भने ।
कांग्रेसले आफूलाई दुःख अफ्ट्यारोमा साथ दिएको भन्दै देवकोटा र मनाङेलाई नहटाउने बताइरहेको छ ।
केन्द्रमा कांग्रेस–एमालेको सत्ता समीकरण बनेको एक महिनाभन्दा लामो समय भइसक्दा पनि गण्डकीमा सत्ताको गाँठो मन्त्रालय संख्या बढाउने/नबढाउने तथा दुई मन्त्री राख्ने/नराख्नेमा कुरा ममिल्दा फुकिसकेको छैन । अहिले भने मन्त्रालयको संख्या बढाएर साझा कार्यक्रम बनाउने सहमतिनजिक पुगिएको दुवै दलका नेताहरू बताउँछन् ।
अब मन्त्रालयको संख्या बढाएर ९ बनाउन एमालेले अनौपचारिक सहमति दिएको निकटस्थ स्रोतले जानकारी दियो । कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले अहिले सबैलाई समेट्न पनि मन्त्रालयको संख्या बढाउनुपर्नेमा एमाले सहमत रहेको बताए ।
अहिले गण्डकीमा कांग्रेसका मुख्यमन्त्री पाण्डेसहित अर्थमन्त्री डा. टकराज गुरुङ, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा, भौतिक पूर्वाधार मन्त्रीमा मनाङे र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेसपाका फणीन्द्र छन् ।
प्रतिक्रिया